काठमाडौं, ६ मंसिर । मानव तस्करीको आरोप लागेर प्रहरी हिरासतमा रहेका नेकपा (एमाले) का नेता एवं कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीले आफूसँग जापान गएका तीन जनालाई नै नचिन्ने जवाफ दिएका छन् । विराटनगरबाट पक्राउ परेका अधिकारी अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । अनुसन्धान अधिकारीहरुले उनको बयानसमेत सकाएकमा छन् ।
बयानका क्रममा अधिकारीले मानव बेचविखानको सम्बन्धमा आफू अनभिज्ञ रहेको बताएका छन् । अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार उनले आफूसँगै जापान गएका दावा शेर्पा, जनक राई र कञ्चन देवकोटालाई समेत नचिन्ने बताएका छन् ।
शेर्पा, राई र देवकोटा हङ्कङ ट्रान्जिटको क्रममा एउटै भ्रमण टोलीमा रहेको जानकारी गराएको र आफूलाई शंका लागेको उनको बयान छ । त्यसपछि जापानको अध्यागमन विभागलाई आफैंले उनीहरुसहितलाई डिपोर्ट गरिदिन आग्रह गरेको उनको भनाइ छ । File Photo/RN