काठमाडौं । नेकपा एमाले तेह्रथुमको अध्यक्षमा शिव प्रसाद ढुंगाना निर्वाचित भएका छन् । १२औं जिल्ला अधिवेशनबाट अध्यक्षका अर्का प्रत्यासी गोविन्दराज श्रेष्ठलाई हराउँदै ढुंगाना निर्वाचित भएका हुन् ।
ढुंगानाले २३६ मत पाउँदा श्रेष्ठले २०४ मत ल्याए। ढुंगाना र श्रेष्ठ प्यानलै बनाएर चुनाव लडेका थिए । अध्यक्ष बाहेक ढुंगानाको प्यानलले खुला उपसचिव पनि जितेको छ ।
उपाध्यक्षमा दुवै प्यानलबाट साझा उम्मेदवार बनेका सन्तोष तिगेला सर्वसम्मत निर्वाचित भएका छन् ।
सचिवमा भने श्रेष्ठ प्यानलका तारामान मादेन निर्वाचित भएका छन् । मादेनले ढुंगाना प्यानलका छत्र प्रसाद रिमाल पराजितलाई २६ मतले पराजित गरेका हुन् । मादेनले २२६ र रिमालले २०२ मत प्राप्त गरेका हुन् ।
खुला उपसचिवमा ढुंगाना प्यानलका यादव बहादुर खापुङ निर्वाचित भएका छन् । मेन्छेयायेम गाउँपालिकाका अध्यक्ष समेत खापुङले २२० मत पाएका हुन् । श्रेष्ठ प्यानलका उपसचिवका उम्मेदवार अर्जुन ढुंगानाले २०८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी महिला उपसचिवमा पनि श्रेष्ठ प्यानलकी तारा ढकाल निर्वाचित भएकी छन् । ढकालले १७५ मत प्राप्त गरेकी छन् । ढुंगाना प्यानलकी सरिता खड्काले १६५ र प्यानल बिनै चुनाव लडेकी तारा कार्की गुरुङले ७८ मत प्राप्त गरेकी हुन् ।
पराजित श्रेष्ठ एमाले अध्यक्ष केपी शर्मा ओली निकट हुन् भने ढुंगाना दश बुँदे समूहका नेता हुन् । ढुंगानालाई बालकोटको साथ रहेको चर्चा थियो । ढुंगाना यसअघि जिल्ला समन्वय समिति तेह्रथुमको प्रमुख थिए ।