काठमाडौं, ७ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) अन्तर्गतका परियोजनाहरु ऋणमा लिन नहुने बताएका छन् । आज (शुक्रबार) कांग्रेसले आयोजना गरेको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरुबारे छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले आफूहरुले बीआरआईअन्तर्गतका परियोजना लिन नहुने भनेर नभनेको तर ऋणमा भने लिन नसकिने बताएका हुन् । बीआरआईको समझदारी पत्रमा आफैंले हस्ताक्षर गरेको बताउँदै महतले समझदारीमा लगानी, कनेक्टिभिटी र प्राविधिक सहयोगको कुराहरुमात्रै उल्लेख गरहेको बताए । उनले नेपाललाई अहिले ऋणको भार धेरै रहेको भन्दै र अब ऋण कुनै पनि मुलुकसँग थप्न नहुने बताए ।
चीन सरकारले विगतमा घोषणा गरेको अनुदान सहयोग हालसम्म पनि कार्यान्वयनमा नआएको बताउँदै उनले तिनै परियोजनालाई बीआरआईअन्तर्गत बनाएर कार्यान्वयन गर्दा पनि नेपाललाई स्वीकार्य रहेको बताए ।
‘हामीले बीआरआई हुँदैन भनेको छैनौं । मैले नै त्यसबेला समझदारीपत्रमा हस्ताक्षर गरेको हो । त्यो हस्ताक्षरमा लगानी, कनेक्टिभिटी र प्राविधिक सहयोगका कुराहरु छन् । कस्तो सहयोग गर्ने भन्ने कुरा आउँदाखेरी कनेक्टिभिटीको कुरा आउँदा सुरुङमार्ग र सडकमा अनुदान सहयोग दिनुपर्यो । अनुदानमा नै धेरै प्रतिवद्धता गरेको चिनियाँ सरकारले कयौं वर्षदेखि कार्यान्वयन भएको छैन ।’ नेता महतले भने, ‘अनुदान नै कार्यान्वयन भएको छैन, ऋणको कुरा गरेर के अर्थ ? अहिले हामीलाई ऋणको भार पनि धेरै भएको छ । चिनियाँ सरकारसँग मात्रै होईन कि जुनसुकै सरकारसँग पनि अहिले ऋण लिने कुरामा जान हुँदैन । बीआरआईअन्तर्गत नै अनुदान कार्यान्वयन गरेपनि भयो । ऋण चाहीँ लिन हुँदैन ।’ File Photo/RN