काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत लाइन काटेर देशको अर्थतन्त्र चौपट बनाउन खोजेको आरोप लगाएका छन् । आज (शुक्रबार) एमालेले दरबारमार्गमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै उनले कूलमानले विद्युत महशुल उठाउनेतर्फ कुनै चासो नदिएर उद्योगहरुको लाइन काट्दै हिँडेको आरोप लगाएका हुन् ।
‘बक्यौता नउठाउने, अनि विद्युतको लाइन काट्ने ? अहिले सरकारले भनिरहेको छ– बक्यौता उठाउ । विद्युत महशुल आयोगले जे भनिरहेको छ, त्यसअनुसार, टीओडी मिटर, दैनिक खपत गरेको विद्युतको मिटरमा आएको हुन्छ । त्यो मिटरको बिलअनुसार पैसा असुल गर, तुरुन्त असुल गर । लाल आयोग बन्यो, लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर । महशुल नउठाउने, अनि विद्युतको लाइन काटेर देशको अर्थतन्त्र, देशको उद्योगहरुलाई बन्द गरिदिने, मजदुरहरुलाई बेरोजगार बनाइदिने, निर्यात चौपट बनाइदिने, उत्पादन खत्तम बनाइदिने यस प्रकारका षड्यन्त्रहरु भइराखेको छ,’– प्रधानमन्त्री ओलीले भने ।