काठमाडौं, ७ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले समाजवादी आन्दोलनलाई एकतावद्ध र सुदृढ गर्नुपर्ने आवश्यक्ता औंल्याएका छन् । समाजवादी आन्दोलनको आजको अवस्था र काङ्ग्रेस कम्युनिष्टको चरित्रबारे टिप्पणी गर्दै बस्नेतले समाजवादी आन्दोलनलाई व्यवस्थित नगर्दा मुलुकमा झन गम्भीर सङ्कटमा फस्ने पक्का रहेको बताएका हुन् ।
‘नेपालमा समाजवादी आन्दोलनको क्षयीकरण र काङ्ग्रेस, कम्युनिष्टको भ्रष्टीकरण तीव्र गतीमा भइरहेको छ । समाजवादी आन्दोलनलाई व्यवस्थित नगर्ने हो भने मुलुकमा सङ्कट झन गहिरिने पक्का छ,’ नेता बस्नेतले भने ।
समाजवादी आन्दोलनलाई विकल्पको रुपमा अगाडि बढाउने सङ्कल्प गरेका समाजवादीहरु नै आज काङ्ग्रेस, कम्युनिष्टको टेको बन्ने होडबाजीमा लागेको उनको आरोप छ ।
‘समाजवादी आन्दोलनलाई काङ्ग्रेस कम्युनिष्टकै कठपुतली बनाइन लागेको छ । समाजवादी आन्दोलनलाई तितरबितर पार्ने कोसिस भइरहेको छ, बेलैमा सजग र सचेत भई अगाडि बढ्नुपर्ने भएको छ,’ बस्नेतले भने ।
बस्नेतले समाजवादी आन्दोलनको रुपमा १२ वर्षअघि आजको दिन अशोक राई नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टी, नेपाल गठन भएको स्मरण गरे ।