काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूलाई षड्यन्त्र गरेर सहकारी ठग बनाइएको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले समस्या ग्रस्त सहकारीमै नपर्ने मितेरी सहकारीबारेको कुरा बाहिर ल्याएर आफूलाई डाम्ने काम भएको उनले बताए । उनले मितेरी सहकारी समस्याग्रत सहकारीको लिस्टमा पनि नरहेको र सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आफ्नो टीओआरमा नै नभएको सहकारीमा प्रवेश गरेर आफूलाई आरोप लगाइएको बताए ।
‘तपाईँले ममाथि षड्यन्त्र भयो भन्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो कि ?’ भन्ने प्रश्नमा उनले भने, ‘त्यस्तो इगो राख्नै हुन्न भन्ने मान्छे हुँ म । यो मितेरी समस्याग्रस्त सहकारीभित्र पर्छ ? पर्दैन नि । राज्यले पहिचान गरेको समस्याग्रस्तभित्र त पर्दैन । मितेरी सहकारी अहिले पनि चलिरहेको छ । बन्द भएको छैन, लिस्टमा समस्याग्रस्त पनि थिएन । एकाएक यो कुरा बाहिर लिएर आउनु, सिधै ममाथि लक्षित गरेर कुरा बाहिर ल्याइयो । त्यो षड्यन्त्र होईन ? समस्याग्रत घोषणा नभएको सहकारीको बारेमा एकाएक रातारात अनुसन्धानको कुरा कहाँबाट आयो ? त्यसमा पनि त्यो संस्थाका न म कार्यकारी, न सञ्चालक समिति ? साधरण शेयर सदस्य भने हुँ ।’
सहकारी ठगीको सन्दर्भमा कांग्रेसले संसद् अवरुद्ध गरिरहेको अवस्थामा धनराज र ओलीबीच संसद्मा धकेलाधकेल भएको थियो । धनराजले सोही प्रसंगमा ओलीले आफूमाथि पूर्वाग्रह राखेको आशंका व्यक्त गरे । उससभापति गुरुङले मितेरी सहकारी अपचलनमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताए । उनले करोड र लाख नभएर १ रुपैयाँ पनि सहकारी ठगीको पैसा आफूले प्रयोग नगरेको र आफूकहाँ नआएको बताए । आफूमाथि षड्यन्त्र गरेर मिथ्या आरोप लगाइएको उपसभापति गुरुङको दाबी छ । तथ्य र प्रमाणले १ रुपैयाँ पनि आफ्नो नाममा सहकारी ठगीको पैसा आएको पुष्टि भएको खण्डमा सजाय भोग्न तयार रहेको उनको भनाइ छ ।