काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मितेरी सहकारीको अपचलनमा आफ्नो संलग्नता पुष्टि भएमा सेरिएर मर्न तयार रहेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले करोड र लाख नभएर एक पैसा पनि अपचलनमा आफ्नो संलग्नता पुष्टि भएमा भीमसेन थापाले झैं सेरिएर मर्न तयार रहेको बताएका हुन् ।
‘धनराज गुरुङले मितेरी सहकारीबाट १ रुपैयाँ पनि भन्दिनँ म, १ पैसा मैले अपचलन गरेको देखियोस् । म राजनीति गर्दिनँ होईन, धर्ती छोड्दिन्छु । भीमसेन थापाले सेरिएको देश यही हो, इमानदारहरुले कसरी सेरिनुपर्छ ? धनराज गुरुङ पनि इमानदार भएकै कारणले सेरिन तयार छ,’– उनले भने ।
उनले आफूले सुशासनको कुरा उठाएकै कारण सहकारी ठग बनाइएको बताए । संसद्मा सबै नेता र कर्मचारीको सम्पत्ति छानविन हुनुपर्छ भनेर प्रस्ताव दर्ता दर्ता गरेपछि आफूमाथि षड्यन्त्र भएको उनको दाबी छ । ‘संसद्मा मैले सबै नेता, सबै कर्मचारीको सम्पत्ति छानविन गर्नुपर्छ भनेर प्रस्ताव दर्ता गरेको छु । त्यही दिनबाट देश हल्लियो । यो गुरुङ साह्रै सुशासनको कुरा गर्छ, हुँदाहुँदा सबै नेता, सबै कर्मचारीको सम्पत्ति नै छानविन गर्नुपर्छ भनेर संसद्मै प्रस्ताव दर्ता गरेपछि त यो गुरुङलाई ठेगान नलगाएर भयो त ? षड्यन्त्र त्यही भयो क्या,’– उनले भने ।
‘तपाईँले ममाथि षड्यन्त्र भयो भन्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो कि ?’ भन्ने प्रश्नमा उनले भने, ‘त्यस्तो इगो राख्नै हुन्न भन्ने मान्छे हुँ म । यो मितेरी समस्याग्रस्त सहकारीभित्र पर्छ ? पर्दैन नि । राज्यले पहिचान गरेको समस्याग्रस्तभित्र त पर्दैन । मितेरी सहकारी अहिले पनि चलिरहेको छ । बन्द भएको छैन, लिस्टमा समस्याग्रस्त पनि थिएन । एकाएक यो कुरा बाहिर लिएर आउनु, सिधै ममाथि लक्षित गरेर कुरा बाहिर ल्याइयो । त्यो षड्यन्त्र होईन ? समस्याग्रत घोषणा नभएको सहकारीको बारेमा एकाएक रातारात अनुसन्धानको कुरा कहाँबाट आयो ? त्यसमा पनि त्यो संस्थाका न म कार्यकारी, न सञ्चालक समिति ? साधरण शेयर सदस्य भने हुँ ।’ File Photo/RN