Logo

कांग्रेस-एमाले गठबन्धन सरकार जनताबाट अस्वीकृत हुँदैछः माओवादी सचिव पौडेल (भिडिओसहित)



काठमाडौं, ८ मंसिर । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले कांग्रेस–एमालेसहितको गठबन्धन सरकार जनताबाट अस्वीकृत हुँदै गएको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस–एमाले गठबन्धन सरकारसँग कम्फरटेबल मेजरिटी भएपनि यसले सेटिङमा मात्रै काम गरेकाले जनताबाट अस्वीकृत हुँदै गएको बताएका हुन् ।

‘गणितको हिसाबले यो सरकार कम्फरटेबल मेजरिटीमा छ । त्यो भएर अरु कसैले पनि सरकार गिराउने चलखेल गरेका छैनन् । उहाँहरुले सेटिङमा मात्रै काम गर्नुभयो भने बहुमतको गणित भएपनि जनताबाट अस्वीकृत हुनसक्ने कुरा उहाँहरुको क्रियाकलापले प्रष्ट हुन्छ,’– उनले भने ।

साथै, सहकारी ठगीका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका सार्वजनिक अभिव्यक्तिबारे टिप्पणी गर्दै उनले ओलीलाई न्यायाधीशको जस्तो फैसला गर्न नहुने बताए । वर्तमान सरकार प्रतिपक्षी दललाई फसाउन निरन्तर लागिरहेको उनको टिप्पणी छ ।

‘प्रधानमन्त्री न्यायाधीश होइन नि । अदालतले फैसला गर्ला नि गल्ती गरेको, नगरेको कुरा । प्रधानमन्त्रीले सार्वजनिक सभामा बोलेर न्यायाधीशले फैसला सुनाएझैं सुनाउन मिल्छ र ? फसाउनको निम्ति हुँदै नभएका कुराहरु पनि खोजिराखेको अनुभूति अब जनताले गर्न थालिसके ।’ नेता पौडेलले भने, ‘सहकारीको मात्रै कुरा नभएर विभिन्न प्रकारका कुराहरु ल्याएर प्रतिपक्षी दलहरुलाई यो वा त्यो कुरामा ह्मूलेसन गर्ने, दुःख दिने र दुई दलीय प्रणालीमा हामी जान्छौं भनेर बाँडिचुँडीको प्रक्रियामा जाने कुरा हो कि भन्ने करिब–करिब प्रमाणित भएको छ ।’

साथै, प्रधानमन्त्री ओलीको कम्बोडियाको टेलिकममा रहेको लगानीका सन्दर्भमा आएका कुराहरुको जवाफ दिनुपर्ने उनले बताए । प्रमाणित नभएका कुराहरु आफुहरुले केही भन्न नचाहेपनि सम्बन्धित व्यक्ति र आरोप लागेको दलले यसबारे प्रष्ट पार्दा उपयुक्त हुने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्