काठमाडौं, ९ मंसिर । नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रभु हजाराले नयाँ भनिएका दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनमत पार्टीले अन्य दलबाट रिजेक्ट भएका मान्छेहरुलाई नेता बनाएको टिप्पणी गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमाले, कांग्रेस, जसपाबाट फालिएका मान्छेहरु जनमत र स्वतन्त्र पार्टीमा गएको बताएका हुन् । उनले अन्य दलबाट रिजेक्ट भएर गएका मानिसहरुबाट जनताले केही नयाँ पाउन नसक्ने बताए ।
‘नयाँ दलले हामीबाट फालिएका मान्छेहरुलाई लिने गर्नुभयो । त्यस कारणले रिजेक्ट माल राखेपछि जहाँ गएपनि रिजेक्ट नै हुन्छ । एमाले, कांग्रेस, जसपाबाट फालिएका मान्छेहरु जनमत र स्वतन्त्रमा गएका छन् । राजनीतिमा कहीँ नभजेको माल त्यहाँ लिनुभयो,’– उनले भने ।
उनले नयाँ पार्टीप्रति जनताले राखेको आशा र अपेक्षा पूरा नभएको टिप्पणी गरे । उनले नयाँ पार्टीको भूमिका प्रभावकारी देखिन नसकेको दाबी गरे ।
साथै, फरक प्रसंगमा उनले केपी शर्मा ओलीको नेतृत्वभन्दा बाहेक देशको समृद्धि र विकास सम्भव नरहेको बताए । नेता हजाराले आगामी २०८४ को निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गरे ।