Logo

सभामुख घिमिरेले नश्लीय विभेद गरेको जनमत पार्टीको आरोप, अदालत जाने चेतावनी (भिडिओसहित)



काठमाडौं, ९ मंसिर । जनमत पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले देवराज घिमिरे प्रतिनिधि सभाको भन्दापनि एउटा दलको सभामुखजस्तो व्यबहार गरेको टिप्पणी गरेका छन् । जनमतले समानुपातिक सांसद गोमालाभ सापकोटालाई हटाउन ४ पटक पत्र पठाउँदा पनि कार्यान्वयन नभएको बताउँदै उनले सभामुख घिमिरेले नश्लीय विभेद गरेको आरोप लगाएका हुन् ।

दलले कारबाही गरेमा, दल त्याग गरेमा, अर्को दल प्रवेश गरेमा, कुनै किसिमको फौजदारी मुद्दा लागेमा, संविधान उल्लङ्घन गरेमा समानुपातिक सांसदलाई सम्बन्धित दलले हटाउन सक्ने उनको जिकिर छ । ‘उहाँलाई बहुमत केन्द्रीय समितिले साधारण सदस्यबाट निकालेको छ । यसमा नश्लिय विभेद, अहिलेका जुन सभामुख हुनुहुन्छ, देवराज घिमिरेज्यू, उहाँ दलको सभामुखजस्तो व्यबहार गर्दै हुनुहुन्छ । जुन एकदमै निन्दनीय छ । उहाँले गलत गर्नुभयो,’– जनमतका प्रवक्ता यादवले भने ।

समानुपातिक सांसद सापकोटालाई साधारण सदस्यसमेत नरहने गरी जनमतको केन्द्रीय समितिले कारबाही गरेको प्रवक्ता यादवले बताए । उनले ढाकाकुमार श्रेष्ठ, सरिता गिरीलगायतको उद्दाहरण दिँदै सभामुख घिमिरेले विभेद गरेको दाबी गरे ।

‘संसदीय व्यवस्थामा दलको सर्वोच्चता हुन्छ । जसरी एउटा समानुपातिक सांसद्लाई ऐन, विधि, नियम, कानुन र संविधानलाई टेकेर बनाउने प्रावधान छ । त्यसरी नै त्यो सांसदलाई हटाउने प्रावधान पनि छ । जसरी ढाकाकुमार श्रेष्ठलाई आर्थिक लेनदेनको अडियो रिलिज भएपछि हटाइयो, यो भन्दा अगाडिको संसदमा जसपाकी सांसद सरिता गिरीले चुच्चे नक्साको बारेमा आफ्नो व्यक्तिगत अभिव्यक्ति राख्दा उहाँलाई हटाइयो । त्यसरी नै हाम्रो पार्टीभित्र एक जना समानुपातिक सांसदलाई चार पटक, आज ८ महिनादेखि हामीले उहाँलाई साधारण सदस्यताबाट पनि खारेज गरिसकेका छौं,’– उनले भने ।

सभामुख घिमिरेले दलको सर्वोच्चतालाई अस्वीकार गरेको उनको आरोप छ । प्रवक्ता यादवले सभामुख घिमिरेको विभेदकारी व्यवहारको विरुद्धमा सडकदेखि संसद्सम्म आवाज उठाउने बताए । ‘उहाँले दलको सर्वोच्चतालाई इन्कार गर्नुभयो । हामी त्यसको विरुद्धमा संसद्मा लड्छौं, सडकमा लड्छौं । हामी त्यसको विरुद्धमा न्यायपालिकासम्म जान्छौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्