Logo

प्रतिस्पर्धीसमेत नचिन्ने ओली, जागरण सभाको नाममा दुर्गादेखि बालेनसम्मलाई गाली



काठमाडौं, ९ मंसिर । नेकपा (एमाले) ले गत मंसिर ७ गते काठमाडौंको दरबारमार्गमा जागरण सभा गर्यो । कुप्रचार र छाडापनविरूद्द जागरण सभा आयोजना गरिएको एमालेको दाबी थियो । तर, एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली आफैं कार्यक्रममा अराजक देखिए । देशको प्रधानमन्त्रीको हैसियतमा रहेका ओलीले पार्टीको जागरण सभाबाट काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, सााइबर क्राइममा अनुसन्धानका लागि हिरासतमा रहेका दुर्गा प्रसाई, सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछाने र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसम्मलाई गाली गर्न र आरोप लगाउन भ्याए ।

‘हामीले बुझेका छौं– कहिले बैंकको ऋण तिर्नुपर्दैन भनेर कोही कराएर हिँड्छ । बैंकको ऋण लिएपछि तिर्नुपर्दैन ? तिर्नुपर्दैन भनेर कराएर हिँड्छ । किनभने यस देशको अर्थतन्त्र र मौद्रिक स्थितिलाई अस्तव्यस्त बनाउने काम भएको छ । त्यसपछि अर्को अभियान चल्छ, उद्योगीहरुलाई खेद, मारवारीहरुलाई खेद भन्ने खालका अभियान चल्छ । यो के–का लागि ?’ साइबर क्राइममा प्रहरीको अनुसन्धानमा रहेका प्रसाईँलक्षित उनको अभिव्यक्ति थियो ।

प्रधानमन्त्री ओलीले कम्बोडियाको टेलिकममा २१ अर्ब अमेरिकी डलर लगानी गरेको भनी भिडियो बनाएपछि प्रसाईँ पक्राउ परेका थिए । प्रसाईँमाथि अनुसन्धान चलिरहेको छ । अनुसन्धानको दायरामा रहेका मान्छेको बारेमा देशको कार्यपालिका प्रमुख प्रधानमन्त्रीले बोल्नु आफैंमा अशोभनीय देखिन्थ्यो ।

त्यस्तै, प्रधानमन्त्री ओलीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको लाइन काटेर देशको अर्थतन्त्र, उद्योगहरु बन्द गराएको, मजदुरहरुलाई बेरोजगार बनाइदिएको र निर्यात चौपट पारेको आरोप लगाए । कुलमानले बक्यौता नउठाएको पनि प्रधानमन्त्री ओलीको आरोप थियो । बक्यौता तिर्न भन्दै पटक–पटक ताकेता गर्दासमेत उद्योगी व्यवसायीले नमानेपछि प्राधिकरणले उद्योगहरुको लाइन काटेको थियो । डेडिकेटेड-ट्रंकलाइन प्रयोगकर्ता उद्योगहरुले अहिले प्राधिरणलाई बुझाउनुपर्ने बक्यौत २२ अर्ब रहेको छ । ओली नेतृत्वको मन्त्रिपरिषद्ले निर्णय गरेर बक्यौता नै नतिरी ती उद्योगहरुको लाइन जोड्न निर्देशन दिएको थियो । बक्यौता नतिर्दा पनि लाइन जोड्न निर्देशन दिएका ओलीले दोषजति कुलमानमा खन्याए ।

‘बक्यौता उठाउन छाडेर, बक्यौता नउठाउने, अनि विद्युतको लाइन काट्ने । अहिले सरकारले भनिरहेको छ- बक्यौता उठाउ, विद्युत महशुल आयोगले जे भनेको छ त्यहीअनुसार, टीओडी मिटर भन्छ, दैनिक खपत गरेको विद्युत मिटरमा आएको हुन्छ ।’ उनले भने, ‘त्यो मिटरको बिलअनुसार तुरुन्त पैसा असुल गर । लाल आयोग बन्यो, त्यसको प्रतिवेदनअनुसार पैसा उठाउ । त्यो नउठाउने, अनि विद्युतको लाइन काटेर देशको अर्थतन्त्र, देशको उद्योगहरुलाई बन्द गरिदिने, मजदुरहरुलाई बेरोजगार बनाइदिने, निर्यात चौपट बनाइदिने षड्यन्त्र भइरहेको छ ।’

प्रधानमन्त्री ओली त्यतिमा मात्रै रोकिएनन्, कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी गरेकोसमेत दाबी गरे । व्यक्ति दोषी अथवा निर्दोष के हो भन्ने घोषणा गर्ने अधिकार नभएका प्रधानमन्त्री ओली आफैं न्यायाधीश बन्न खोजे । लामिछाने अहिले अनुसन्धानकै प्रक्रियामा छन् । उनी अहिले आरोपित मात्रै हुन्, अभियोग प्रमाणित नभएसम्म लामिछाने सहकारी ठग भन्ने छुट देशको प्रधानमन्त्रीको भूमिकामा रहेको व्यक्तिलाई छैन । यद्यपि सहकारी ठगीमा संलग्नताको बारेमा प्रश्न उठिरहँदा ओलीले नै लामिछानेलाई उपप्रधान एवं गृहमन्त्री बनाएका थिए । ‘आफैं सहकारी ठगी गर्ने अनि अरूलाई दोष लगाउने, मुख छाड्ने, गाली गर्ने जस्ता काम भएका छन् । यस्ता कुनै पनि प्रकारको ठगी सह्य हुँदैन,’– लामिछानेलक्षित उनको अभिव्यक्ति थियो ।

उनले अहिले देश र लोकतन्त्रलाई अप्ठ्यारोमा पार्न खोजिएको दाबी गरे । प्रधानमन्त्री ओलीले संविधान मास्ने र अराजकता सिर्जना गर्ने षड्यन्त्र पनि भइरहेको बताए । तर, कसबाट संविधानमाथि खतरा छ ? भन्ने कुरा उनले गोप्य नै राखे । यद्यपि प्रधानमन्त्री ओली तिनै मान्छे हुन्, जो अघिल्लो पटक प्रधानमन्त्री रहँदा दुई–दुई पटक संसद विघटन गरेका थिए । संसद् विघटनलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले पुनर्स्थापना गरिदिएको थियो । एमाले–कांग्रेस मिलेर बनेको वर्तमान गठबन्धन सरकारले संविधान संशोधनको कुरा उठाइरहेको छ । संविधान संशोधनमार्फत समानुपातिक समावेशी व्यवस्था र संघीयता खारेज गर्नेतर्फ वर्तमान सरकार अगाडि बढेको भन्दै माओवादीले सार्वजनिक मञ्चमार्फत विरोध गर्दै आएको छ ।

‘देशलाई अप्ठ्यारोमा पार्न खोजिएको छ, लोकतन्त्रलाई अप्ठ्यारोमा पार्न खोजिएको छ । संविधान मास्न खोजिएको छ । अराजकताको स्थिति ल्याउन खोजिएको छ । अलोकतान्त्रिक बाटोबाट अराजकता सिर्जना गरेर समाजलाई भाँड्न खोजिएको छ । हामीले ठूलो संघर्ष र बलिदान गरेर ल्याएको लोकतन्त्र र जनताको सर्वोच्चतालाई समाप्त पार्ने षड्यन्त्र भइरहेको छ,’– उनले भने ।

त्यस्तै, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहमाथि पनि ओली खनिए । ओली सुकुम्बासी र गरिबहरुलाई भावनात्मक प्रभावमा पारेर भोटको राजनीति गर्न खपिस मानिन्छन् । बालेनलाई गरिबहरुलाई देखिनसहेको टिप्पणी गर्दै आएका ओली यसपटकको जागरण सभामा पनि बालेनविरुद्ध खनिए । बालेनले देशलाई अराजकतातिर लान खोजेको उनको आरोप थियो ।

त्यस्तै, उनले अहिलेको एमाले–कांग्रेससहितको समीकरण आगामी २०८४ सालसम्मै कायम रहने बताए । समीकरण लामो समय कायम रहने बताइरहँदा ओलीले सरकार गम्भीर शंकटमा रहेको संकेत गरे । आफू चीन भ्रमणमा जान लागेको जानकारी गराउँदै उनले घम्न भनेर जान नलागेको बताए । भ्रमण सफल हुने उनले बताए ।

‘२०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ । सबैले बुझे हुन्छ । कान खोलेर सुने हुन्छ । मेरो अवधि, म अब २०८३ साल असारसम्म प्रधानमन्त्री रहन्छु । त्यसपछि शेरबहादुर देउवाजीलाई जिम्मा लगाउँछु । यसमा कुनै भ्रम नराखे हुन्छ । यस्ता भ्रममा नपर्नुस्, आम जनतालाई भ्रममा पर्न नदिनुस्,’– उनले भने ।

पार्टीको जागरण सभामा झण्डै डेढ घण्टा भाषण गरेका ओलीले एमाले र आफूमाथि लगाइएका आरोपहरु खण्डण गर्न र चर्चा गर्न लायकका नरहेको बताए । तर, ओलीले पूरै समय बालेन, दुर्गा, कुलमान, रविलगायतलाई गाली गरेर बिताए । एमालेले आफ्नो मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसलाई मान्दै आएको छ । कांग्रेस त परको कुरा प्रधानमन्त्री ओलीले पार्टीको जागरण सभामा संसद्को तेस्रो ठूलो नेकपा (माओवादी केन्द्र) कोसमेत आलोचना र टिप्पणी गर्ने हैसियत राखेनन् ।



प्रतिक्रिया दिनुहोस्