काठमाडौं, १० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका निश्काशित महामन्त्री डा. मुकुल ढकालले पार्टी उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नै रवि लामिछानेलाई थुन्ने आधार सिर्जना गरिदिएको आरोप लगाएका छन् । हिजो (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले डा. वाग्लेले सुनियोजित रुपमा पार्टीलाई आन्दोलनमा धकेलेर रविलाई थुन्ने आधार सिर्जना गरेको आरोप लगाएका हुन् ।
‘जब उहाँ (रवि) लाई थुनियो, तत्काल स्वर्णिमले पार्टीलाई आन्दोलनको पक्षमा ल्याए । पार्टीलाई आन्दोलनमा ल्याएपछि अदालतमा दलिल के भयो ? बाहिर हुलहुज्जत गरेको कारणले गर्दा रवि लामिछानेलाई छोड्दा न्यायलयमा प्रभाव पार्ने भयो । उहाँ (स्वर्णिम) ले रवि लामिछानेलाई थुन्नको लागि आधार सिर्जना गर्दिनुभयो,’– उनले भने ।
रास्वपाका सभापति लामिछाने गत कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । पार्टी कब्जा गर्ने मनशायले डा. वाग्लेले लामिछानेलाई थुन्ने आधार बनाइदिएको उनको टिप्पणी छ ।
रविले प्रमाण नष्ट गर्ने आधार नभएको, भागेर जाने आधार र कारण नरहेको अवस्थामा बाहिर नै बसेर मुद्दाको पुर्पक्ष गर्न सकिने अवस्थामा पनि वाग्लेको कारण भाँडिएको उनको आरोप छ । लामिछानेको पक्राउपछि डा. वाग्लेले नियोजित रुपमा चीनबाट आएर हतारमा पार्टीलाई आन्दोलनमा धकेलेको उनको आरोप छ ।
रविलाई जेल पठाउने र अर्का उपाध्यक्ष डोलप्रसाद अर्याललाई असक्षम व्यक्ति सिद्ध गराएर अबको महाधिवेशनमा आफू सभापति बन्ने षड्यन्त्रमा वाग्ले रहेको उनको आरोप छ । डा. ढकालले लाछिाने पक्राउ परेसँगै डा.वाग्लेले बन्दीप्रत्यक्षीकरणको मुद्दासमेत हाल्न नदिएको बताए । File Photo/RN