Logo

एनपीएलमा शतक हान्न भुर्तेललाई ओलीको शुभकामना, दीपेन्द्रलाई ‘बाघ’ को संज्ञा दिँदा अरु कसलाई के भने ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसै साता सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी अनावरण गरेका छन्।

सुन्धारास्थित धरहरा परिसरमा सोमवार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सहभागी ८ टोलीका मार्की खेलाडीका साथ ट्रफी अनावरण गरेका हुन्।

ट्रफीमा कालापथ्थरबाट ल्याइएको ढुंगा प्रयोग गरिएको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए। पर्वतारोही निमा शेर्पा र मिङ्मा शेर्पाले कालापथ्थरबाट ढुंगा ल्याएको खड्का जानकारी दिए।

प्रधानमन्त्री ओलीले नेपाल खेलकुदका लागि महत्त्वपूर्ण दिन रहेको जनाउँदै एनपिएलले खेलकुदमा‌ नयाँ उचाईमा पुर्याउने विश्वास व्यक्त गरे। उनले क्रिकेट युवा पुस्ताको सपना बनेको बताए ।

प्रधानमन्त्री ओलीले सहभागी ८ टोलीका कप्तानहरुलाई अलग अलग बिशेषणसहित प्रशंसा गर्दै सफलताको शुभकामना दिए। उनले एनपिएलले पर्यटन व्यवसायलाई पनि टेवा पुग्ने विश्वास लिएको बताए । उनले युवा प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन एनपिएल प्रभावकारी हुने आशा व्यक्त गरे।

एनपीएलको ट्रफी अनावरण गर्दै प्रधानमन्त्ती ओलीले पोखरा एर्भेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेलको खुवै प्रशंसा गरे । उनले भुर्तेल बलर हो कि ब्याटर छुट्याउन नसकेको भन्दै यसपटकको एनपीएलमा ९९ रनमा आउट नहुन र शतक प्राहर गर्न शुभकामना दिए । उनले भने, ‘पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल ब्याटर हुन् कि बलर छुट्याउनै गाह्रो हुने उनको कौशल छ। विश्वले नै छुट्याउन सक्या छैन जस्तो लाग्छ मैले मात्र हैन। यसपटक ९९ मा आउट हुन नपरोस्। शतक हान्नु भन्ने मेरो शुभकामना छ।’

ओलीले जनरपुर बोल्टस्का मार्की आसिफ खेलको बारेमा प्रशंसा गर्दै उनको जस्तै अनुशासन सबै खेलाडीमा हुनुपर्ने बताए । ‘आसिफले स्पोटर्सम्यानसिप देखाउँदै आयरल्याण्डका खेलाडीलाई रनआउट नगरेको त्यो भाइरल भिडियो मैले पनि हेरेको थिए’ ओलीले भने ‘जनकपुरझै शान्त स्वभाव उहाँको पनि रहोस् मेरो शुभकामना छ’ ।

काठमाडौं गुर्खाजका मार्की खेलाडी करण केसीलाई भ्यालेन्टाइ ब्वाई भनेर सम्बोधन गर्दै ओलीले करणले राजधानीको नाम राख्न आशा लिएको बताए । चितवन राइनोजलाई चितवन गैडाज् (ओलीको शव्दमा) भन्दै प्रशंसा गरेका ओलीले कुशल मल्ललाई सानै उमेरमा ठूलो प्रगति गरेको खेलाडी भनेर प्रशंसा गरे । ‘चितवन राइनोज अथवा गैडाज्का कप्तान कुशल मल्ल हेर्दा सानो सानो तर, ज्यानमा तागत बोकेर छक्का हान्ने तागत साह्वै मन पर्छ । आखिर चितवन गैडाज्का कप्तान न परे’ उनले भने ।

ओलीले लुम्बिनी लायन्सका मार्की तथा राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलको नाम सुन्दै आफूलाई गर्व महसुस हुने बताए । ‘रोहितको नाम सुन्दा पनि मलाइ गर्व लाग्छ । रोहितको कप्तानीले लुम्बिनीको भावना मैदानमा देखिनेछन् । आखिर जसले जितेपनि नेपालले जित्नेछ । त्यसले पनि रोहितलाई राम्रै गर्नेछ ।

प्रधानमन्त्री ओलीले विराटनगर किंग्सका मार्की खेलाडी सन्दीप लामिछाने नेपाली क्रिकेटको ब्राण्ड एम्वेसडर भएको बताए । ‘सन्दीप हाम्रो क्रिकेटका ब्राण्ड एम्वास्डर हुन् । बीबीएलदेखि आइपीएलसम्म धेरै ब्याटरलाई सन्दीपको बलले नाच्न बाध्य पारेको छ । त्यसेले त मैले भनेको थिए । नेपालीले चान्स पायो कि गर्छ’ ओलीले भने ।

उनले कर्णाली याक्सका कप्तान सोमपाल कामीको योर्करलाई कसैले भुल्न नसक्ने बताए। नेपाली क्रिकेट टिमले अर्को टी-२० विश्वकप खेल्नेमा उनले विश्वास व्यक्त गरे। इन्डियन प्रिमियर लिग (आईपीएल) मा सर्वाधिक रन हान्ने खेलाडी शिखर धवन नेपालमा आउनु गर्वको विषय भएको बताए।

यसको अलावा उनले आफ्नो फेभरेट खेलाडी दीपेन्द्रसिंह ऐरी भएको बताए। ओलीले दीपेन्द्रलाई बाघको संज्ञा दिँदै भने ‘अन्तिममा हिरोको पालो आउँछ । नेपाल क्रिकेटका बाघ दीपेन्द्रको ६ छक्काको विश्व मलाई कीर्तिमान आज पनि याद छ । सुदुरलाई मेरो विशेष सुभेच्छा छ ’ ।



प्रतिक्रिया दिनुहोस्