काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग परामर्श सुरु गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मा चीन भ्रमणबारे छलफल भइरहेको छ । छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत सहभागी भएका छन् ।
प्रधानमन्त्री ओलीले मंसिर १७ देखि चीन भ्रमण गर्ने तयारी गरेका छन् । कार्यक्रम अनुसार मंसिर १८ गते उनले चिनियाँ राष्ट्रपति सि जिनपिङ र आफ्ना चिनियाँ समकक्षीसँग वार्ता गर्नेछन् । १९ गते उनले चीनको बेइजिङस्थित नेपाली दूताबासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । त्यसदिन प्रधानमन्त्री ओलीले नेपाल र चिनियाँ उद्योगी व्यवसायीहरुको संयुक्त कार्यक्रम बिजनेस समिटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री मंसिर २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।