काठमाडौं, १० मंसिर । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) ऋणमा वा अनुदानमा लिने भन्ने कुरा आपसी सहमतिमा टुङ्गिने बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले चीनसँग अहिलेको मुख्य विषय सम्बन्ध रहेको बताए । उनले बीआरआई पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र नेपाली कांग्रेस सत्तामा रहेको बेलामा हस्ताक्षर भएको बताउँदै त्यो बेलामा भएको सहमतिअनुसार नै अगाडि बढ्ने बताए ।
‘बीआरआई ऋण कि अनुदान भन्नेबारेमा त्यसको सुरुवात गर्ने बेलामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनुहुन्थ्यो, नेपाली कांग्रेस सरकारमा थियो । त्यतिखेर थालिएको विषय हो । हिजो जे हिसाबले जुन स्प्रिटमा थालिएको विषय हो, हाम्रो जोड चीनसँगको मुख्य विषय सम्बन्ध हो । ऋण र अनुदान भनेको आपसी सहमतिमा हुने कुरा हुन् । चीनले चाहेर हामीलाई ऋण थुपार्ने र हामीले चाहेर अनुदानमात्रै पनि पाइन्छ भन्ने कुरा होईन । हामीले चाह्यौं भने ऋण पनि लिन सक्छौं,’– उनले भने ।
वर्तमान सरकार बीआरआईको सम्बन्धमा देशको हितलाई ध्यानमा राखेर विवेकका साथ अगाडि बढ्ने उनको भनाइ छ । अहिलेको सत्ता गठबन्धनमा परिपक्व, मुलुकलाई पटक–पटक नेतृत्व दिएका केपी शर्मा ओली र शेरबहादुर देउवाजस्ता नेता रहेको स्मरण गराउँदै उनले छलफल र सहमतिमै चीन भ्रमणको एजेण्डा टुङ्गोमा पुग्ने बताए ।
‘प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाजस्ता परिपक्व, पटक–पटक मुलुकको नेतृत्व गरिसक्नुभएको, लामो राजनीतिक पृष्ठभूमि बिताउनु भएको, त्याग तपस्या र संघर्षको पर्याय बन्नुभएको, जिम्मेवार र परिपक्व नेताहरु हुनुहुन्छ । यी सबै चिजहरु छलफल गरेर के गर्दा देशको हित हुन्छ भन्ने कुरालाई ध्यानमा राखेर सरकारले विवेकका साथ काम गर्छ,’– उनले भने । File Photo/RN