काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चिनियाँ सहयोग परियोजना बीआरआई कार्यान्वयन गर्नुपर्ने धारणा राखेका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणबारे छलफल गर्न डाकेको बैठकमा सहभागी भएर बाहिरिनेक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले सो धारणा राखेका हुन् ।
‘वीआरआई नेपालको हितको विरुद्धमा छैन । यसबाट नेपालले लाभ लिनुपर्छ । लाभ लिने विषयमा हामीले सबैसँग सम्बन्ध राख्ने गरेका छौं । वीआरआईसँग त हामी उहिले नै आवद्ध भइरहेका छौं । विभिन्न सरकारहरुले यसमा समझदारी गरेका छन् । त्यसो हुँदा यसलाई पनि अगाडी बढाउनुपर्छ’ उनले भने । सञ्चारकर्मीले बीआरआईबारे एकीकृत समाजवादी डराएको हो भन्ने प्रश्नको जवाफमा नेपालले आफूहरु नडराएको र बाँकी कुरा प्रधानमन्त्रीलाई सोध्न अनुरोध गरे । ‘त्यस्तो कुरा केही आएको छैन् । उहाँ (प्रधानमन्त्री ओली) लाई सोध्नुहोला उहाँँ डराएको हो होइन् । तर,हामी डराएका छैनौं’ ।
नेपालले जुन देशबाट पहिलो निमत्रणता आउँछ त्यही देशको भ्रमण गर्नु नै उचित हुने बताएका छन् । ‘यो देशको भ्रमण पहिले गर्ने, त्यो देशको भ्रमण दोस्रो गर्ने यो टण्टाबाट मुक्त हुनुपर्छ । जसले पहिलो निम्तो दिन्छ, त्यही गर्ने । जुन चिजको विषयवस्तुको गम्भीरता हुन्छ, त्यसको आधारमा त्यसमा पनि जब निम्तोकै कुरा छ भने जहाँ पहिले जान सकिन्छ त्यहीँ जाने हो । भ्रमणको सन्दर्भमा हाम्रो देशको हितलाई ध्यानमा राख्नुपर्छ । छिमेकीहरुको मनमा कुनै किसिमका शंका छन् भने , आशंका छन्, प्रश्नहरु छन् भने त्यसलाई ध्यानमा राखेर उहाँहरुको संवेदनशीलतालाई बुझ्ने र हामीले ख्याल गरिकन विश्वस्त के बनाउनुपर्छ भने नेपाल असंलग्न परराष्ट नीतिमा अविचलित रुपमा उभिन्छ । र, कुनैपनि छिमेकी मुलुकहरुको विरुद्धमा नेपालको भूमि प्रयोग हुन दिँदैनौं ।यस अर्थमा हामी संसारका सबै देशहरुसँग मित्रतापूर्ण सम्बन्ध राख्न चाहन्छौं । कसैसँग हाम्रो शत्रुता छँदापनि छैन्, हाम्रो त्यो चाहनापनि छैन् । नेपाल एउटा शान्ति भूमि हो । यो कुरालाई ध्यानमा राखिकन सम्बन्ध सबैसँग सुमधुर राख्न चाहन्छौं ’ उनले भने ।
प्रधानमन्त्री ओलीले मंसिर १७ देखि चीन भ्रमण गर्ने तयारी गरेका छन् । कार्यक्रम अनुसार मंसिर १८ गते उनले चिनियाँ राष्ट्रपति सि जिनपिङ र आफ्ना चिनियाँ समकक्षीसँग वार्ता गर्नेछन् । १९ गते उनले चीनको बेइजिङस्थित नेपाली दूताबासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । त्यसदिन प्रधानमन्त्री ओलीले नेपाल र चिनियाँ उद्योगी व्यवसायीहरुको संयुक्त कार्यक्रम बिजनेस समिटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री मंसिर २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।