काठमाडौं, १० मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालले आइटी सेल गठन गर्ने भएको छ । सामाजिक सञ्जालको प्रयोग र परिचालनलाई पार्टी हितका निम्ति प्रभावकारी ढंगले थप व्यवस्थित गर्न तथा सूचना, सञ्चार एवं प्रचारप्रसारको संयन्त्रलाई अझ बलियो बनाउन सामाजिक सञ्जाललाई लक्षीत गरी पार्टीको केन्द्रीय आइटी सेल निर्माण गर्न लागिएको हो । यसका लागि पार्टीले जिल्ला, क्षेत्रको संगठनमा आवद्ध भई सामाजिक सञ्जालमा सक्रिय भएर काम गरिरहेका कम्तिमा १० देखि १५ जना व्यक्तिको नामसूची एक साताभित्र केन्द्रीय कार्यालयमा पठाउन भनेको छ ।
व्यक्ति छनौट गर्दा संगठनभित्र सामाजिक सञ्जालको प्रयोगमा सक्रिय भएको, आइटीको प्राविधिक पक्षबारे दख्खल एवं जानकार भएको व्यक्ति हुनुपर्ने जसपा नेपालले जनाएको छ । साथै क्यामेरा, फोनमार्फत फोटो, भिडियो खिच्न र सम्पादन गर्न सक्ने तथा सञ्चारको आवश्यक सामग्रीबारे बोल्न र लेख्न सक्ने क्षमता भएकोलाई प्राथमिकतामा दिईने पनि बताइएको छ ।
संगठनको विश्वसनियता र गोपनियताको विशेष ध्यान राख्न सक्ने युवा, विद्यार्थी, महिला, प्रेस मञ्च, सञ्चार र प्रचार विभागलाई प्राथमिकता दिने व्यक्ति, पार्टीमा लामो समयदेखि सक्रिय भएर काम गर्दै आएको र पार्टी संगठनको हितविपरीत काम गरी कारबाहीमा नपरेको व्यक्तिलाई आइटी सेलमा छनोट गरिने बताइएको छ ।