Logo

मानव तस्करीका आरोपित एमाले नेता अधिकारीलाई उन्मुक्ति, मुद्दा नचलाउने निर्णय



काठमाडौं, १० मंसिर । मानव तस्करीको आरोपमा प्रहरी हिरासतमा रहेका नेकपा (एमाले) का नेता एवं कोशी प्रदेशका निवर्तमानमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचल्ने भएको छ ।

सरकारी वकिलको कार्यालय काठमाडौंले पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णय गरेको हो । उक्त घटनामा संलग्न रहेको आरोपमा अन्य ११ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ ।

कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारी गत कार्तिक २५ गते पक्राउ गरेका थिए । जापानको अध्यागमन विभागबाट अधिकारीसहित ४ जना डिपोर्ट भएका थिए । उनी जापानको एक कार्यक्रममा भाग लिन जापान गएका थिए ।

जापान जाँदा नक्कली कागजात बनाएर मन्त्रालयसँग असम्बन्धित मान्छे लगेको उनीमाथि आरोप छ । तत्कालीन मन्त्री अधिकारीसँग जापान गएका ३ जनाले आफूहरुले १० लाखदेखि १४ लाखसम्म पैसा तिरेर गएको प्रहरीसमक्ष बयान दिएका छन् ।

सरकारी वकिलको कार्यालय काठमाडौंले मानव तस्करीको आरोपित महेश पाण्डे, दावा शेर्पा, जनक राई, कञ्चन देवकोटा, जुगल रिजाल, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई, वीरबहादुर सुनुवार र योगराज गौतमविरूद्ध मुद्दा दायर गरेको छ । प्रतिवादीहरु योगराज, विष्णुप्रसाद र दिवाकर भने फरार छन् ।



प्रतिक्रिया दिनुहोस्