काठमाडौं, १० मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमाणका क्रममा गर्नुपर्ने कामका बारेमा सुझाव दिएका छन् । आज (सोमबार) प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुलाई सिंहदरबारमा बोलाएर चीन भ्रमणका सन्दर्भमा सुझावहरु मागेका थिए । सो क्रममा प्रचण्डले आफू प्रधानमन्त्री भएको बेला चीनसँग भएका सहमति कार्यान्वयनको पक्षमा काम गर्न ओलीलाई सुझाव दिएका छन् ।
सो क्रममा प्रचण्डले विगतमा भएका सहमति र समझदारी कार्यान्वयनको बाटोमा लैजान सकेमात्रै चीन भ्रमण सफल मान्न सकिने बताएको सचिवालयले जानकारी गराएको छ । आफ्नो कार्यकालमा नेपाल र चीनबीच विश्वासको वातावरण बनेको र विभिन्न समझदारी भएको प्रचण्डले प्रधानमन्त्री ओलीलाई स्मरण गराएका थिए ।
त्यस्तै, पूर्व प्रधानमन्त्री प्रचण्डले सो बैठकमा ‘चाइना कार्ड’ भनेर विदेशी मिडियामा दिएको अभिव्यक्तिबारे पनि प्रष्ट्याएका थिए । प्रचण्डले आफू प्रधानमन्त्री बनेपछि पहिलो भ्रमण नै चीनबाट सुरुवात गरेको समेत स्मरण गराएका थिए ।
नेपाली कांग्रेसले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) मा अंकुश लगाएपछि प्रधानमन्त्री ओली चीन भ्रमणमा जानुपूर्व निरिह देखिएका छन् । प्रधानमन्त्री ओलीलाई बीआरआईको सम्बन्धमा प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) ले भने अप्रत्यक्ष रुपमा समर्थन गरेको छ । पूर्व प्रधानमन्त्री प्रचण्डले पनि भ्रमण सफल मानिने भन्दै आफ्नो कार्यकालमा भएका समझदारी कार्यान्वयन गराउन ओलीलाई सुझाव दिएका छन् । File Photo/RN