काठमाडौं, ११ मंसिर । काठमाडौंको महाराजजंगस्थित कान्ति बाल अस्पतालले एक नवजात शिशुको उपचारमा चरम लाप्रवाही गरेको पाइएको छ । कान्ति बाल अस्पतालका निर्देशक डा.पंकज राय नेतृत्वको टिमले ती नवजात शिशुको शरीरभित्रै सुई छाडि दिएका हुन् । सिन्धुली तीन पाटन–४ कि रिमा सुस्लिङ्ग गत कार्तिक २६ गते १३ दिनकी छोरी उपचार गराउन कान्ति बाल अस्पताल पुगिन् । बच्चालाई आँखामा कचेरा आउने समस्या भएपछि उनले अस्पताल लिएर गएकी थिईन् । रिमाका अनुसार डाक्टरहरुले नवजात शिशुलाई जन्डिस देखिएको बताए । सो क्रममा परीक्षणका लागि बच्चाको रगत निकालियो । बच्चाको थाईबाट रगत निकाल्ने क्रममा सुई शरीरभित्र नै भाँचियो । सुई भाँचिएको बारे डाक्टरहरुले वास्ता नै गरेनन् । कार्तिक २९ गते अस्पतालले डिस्चार्ज दिएपछि बच्चा लिएर आफू सिन्धुली गएको रिमाले बताईन् ।
रिमाका अनुसार अस्पतालबाट घर पुर्याएपछि बच्चा निरन्तर रोइरहेको थियो । बच्चालाई तेल लगाइदिने क्रममा कान्ति अस्पतालमा रगत निकालिएको ठाउँमा सुन्निएको देखेको रिमाले सुनाईन् । त्यसपछि बर्दिवासको एक अस्पतालमा गएर भिडिओ एक्सरे गरी हेर्दा बच्चाको शरीरभित्र सुई भाँचिएको पत्ता लागेको उनले बताईन् ।
बच्चाको शरीरभित्र सुई भाँचिएको पत्ता लागेकै दिन राति आफू काठमाडौं आइपुगेर कान्ति बाल अस्पतालाई जानकारी गराउँदा कुनै वास्ता नै नगरेको उनको गुनासो छ । आफ्नो बच्चाको उपचारका बारेमा कान्ति बाल अस्पतालले कुनै जिम्मेवारी नै महशुस नगरेपछि बसुन्धरास्थिति इसान अस्पालमा ल्याएर अप्रेसन गरिएको उनले सुनाईन् । उपचार पश्चात इसान अस्पतालले आज डिसचार्जसमेत गरिदिएको छ । नवाजत शिशुको शरीरमा लामो समय भाँचिएको सुई रहँदा त्यसले दीर्घकालीन असर गर्नसक्ने बारे डाक्टरहरुले आफूलाई जानकारी गराएको रिमाले बताईन् ।
घटनाबाट पीडित भएकी रिमाले दोषीमाथि छानविन गरी कारबाहीको माग गरेकी छन् । उनले बच्चाको उचारको क्रममा लागेको खर्चसमेत भराई पाउनुपर्ने बताएकी छन् । डाक्टरहरुले आफ्नो बच्चाको भविष्यमाथि खेलवाड गरेको उनले बताईन् । शरीरभित्र सुई छाडेको कारणले आगमी दिनमा बच्चामा आउनसक्ने जटिलताको समेत जिम्मेवारी अस्पतालले लिनुपर्ने उनको माग छ । यसबारेमा कान्ति अस्पतालले अझै बेवास्ता गरे न्यायिक उपचार खोज्ने पनि रिमाले बताईन् ।