Logo

माओवादी नेताको टिप्पणी, ‘प्रधानमन्त्री ओली निम्तो मागेर चीन भ्रमणमा जान लाग्नुभएको हो’ (भिडिओसहित)



काठमाडौं, १२ मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले निम्ता मागेर चीन भ्रमणमा जान लागेको टिप्पणी गरेका छन् । हिजो (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भारत भ्रमणको निम्तोका लागि प्रयत्न गर्दागर्दै असफल भएपछि ओली निम्ता मागेर नै चीन जान लागेको बताएका हुन् । उनले प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई ‘लादिएको भ्रमण’ को संज्ञा दिए ।

‘भारत भ्रमणको निम्ताको प्रयत्न गर्दागर्दै असफल भइसकेपछि चीन भ्रमणको निम्ता मागेर त्यसपछि जाँदै हुनुहुन्छ । यो चीनले इच्छाएको भ्रमण होईन । पछिल्लो समय चीनमाथि लादिएको भ्रमण हो यो । भारत जाने असफल प्रयत्नपछि, सम्भावना टरिसकेपछि चीन भ्रमण हुँदैछ । चिनियाँ भ्रमण लादिएको छ,’– उनले भने ।

साथै, प्रधानमन्त्री ओलीको चीन भ्रमणको मुखमै आएर चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) लाई विवादित बनाइएको भन्दै आपत्ति जनाए । बीआरआई विवादित बनाउन नहुने उनको भनाइ छ । नेपालले आफ्नो राष्ट्रिय हितको पक्षमा बीआरआईअन्तर्गतका परियोजनाहरु स्वीकार गर्न सक्ने उनले बताए ।

साथै, प्रधानमन्त्री ओलीको चीन भ्रमण पूर्ण रुपमा असफल रहने उनको दाबी छ । नेता दाहालले प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा घुम्ने र १०/२० करोड खर्च हुनेबाहेक अर्को प्रगति नहुने टिप्पणी गरे । ‘ओलीजी घुमेर आउनुहुन्छ । घुमेर आउनेबाहेक केही प्रगति हुँदैन । हाम्रो १०/२० करोड खर्च हुन्छ, त्यत्ति हो,’– नेता दाहालले भने ।

नेता दाहालले प्रधानमन्त्री ओलीको चीन भ्रमण जानुअघि नै असफल भइसकेको दाबी गरे । ‘भ्रमणमा जानुभन्दा अगाडि नै राजदूतावास, परराष्ट्र मन्त्रालयबाट डेलिगेसन आउने, एजेण्डा आउने, हाम्रो तर्फबाट जाने, एउटा सहमति हुने, एजेण्डा फाइनल गर्ने हाम्रो त यही हो नि चलन । यो पटक चिनियाँ राजदूतावाससँग सम्बन्वय छैन । पराष्ट्र मन्त्रालयसँग सम्बन्ध छैन । एजेण्डा क्लियर छैन । यो भ्रमण जानुअघि नै असफल भइसक्यो,’– उनले भने ।File Photo/RN



प्रतिक्रिया दिनुहोस्