Logo

बीआरआईमा कांग्रेस र एमालेबीच फरक धारणा छैन्, संविधान संशोधन सडकको छलफलको विषय होइन्: गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) मा फरक धारणा नरहेको जिकिर गरेका छन् । बुधबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा दुवै दलका साझा एजेण्डा प्रस्तुत हुने बताए ।

उनले भने, ‘अमेरिका, चीन, भारत, जापान जस्ता देशबाट अनुदानको अपेक्षा गर्छौं । यो पटक चीन भ्रमणमा पनि हाम्रो अपेक्षा त्यही रहन्छ । नेकपा एमालेको धारणा पनि यो भन्दा फरक छैन ।’

महामन्त्री थापाले सबै मित्र राष्ट्रसँग मित्रवत् सम्बन्ध स्थापित गर्न चाहेको भन्दै बीआरआई सम्झौता नेपालमा लागू गर्ने कुरा नेपाली कांग्रेसका लागि नयाँ र नौलो नभएको पनि बताए ।

पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका थापाले संविधान संशोधनको सडकको छलफलको विषय नभएको पनि प्रष्ट पारेका छन् । नयाँ सत्ता समीकरण निर्माण गर्दा संविधान संशोधनको एजेण्डा समावेश भएको र त्यसै अनुसार संशोधनको एजेण्डा कार्यान्वयन गरिने थापाले सुनाए ।

‘हामीले आ-आफ्नो दलभित्र गृहकार्यहरु गर्‍यौं । अब दुइवटा दलको बीचमा मिलेसम्मको साझा धारणा बनाउँछौं । त्यसपछि अन्य दलहरुसँग छलफल प्रारम्भ गर्छौं,’ उनले भने, ‘यसलाई सडकको छलफलको विषय बनाउनुभन्दा पहिला संविधान निर्माण गर्ने बेलामा सँगै रहेका दलहरू माओवादी, मधेश केन्द्रित दललगायत सबैसँग एउटा सौहार्दपूर्ण वातावरणमा पहिले छलफल गरौं । एउटा समझदारी बनाऊ ।’

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमको तयारीमा रहेका बेलामा बीआरआईले चर्चा पाएको छ । कांग्रेसले बीआरआईका नाममा ऋण लिन नहुने बताउँदै आएको छ । सतप्रतिशत अनुदान भए लिने नत्र लिन नहुने पक्षमा कांग्रेस छ । मंसिर १७ गते चीन भ्रमणमा जान लागेका ओलीले बीआरआईमा हस्ताक्षर गर्ने तयारी गरेका छन् । तर,बीआरआई ऋण कि अनुदान भन्नेमा विवाद देखिएको छ ।

नेपाली कांग्रेस ऋणमा लिन नहुनेमा अडिक रहँदा एमालेसहितका वामपन्थी दलहरु भने ऋण वाअनुदानजे भएपनि स्वीकार गर्नुपर्ने पक्षमा छन् । त्यसोत, प्रधानमन्त्री ओलीले पनि सार्वजनिक कार्यक्रममा चीन भ्रमणका क्रममा ऋणसम्बन्धी सम्झौता नहुने बताइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्