काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) ऋणमा नभएर अनुदानमै लिनुपर्ने सन्देश प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निजि निवास बुढानीलकण्ठमा बसेको कांग्रेसका शीर्ष नेताहरुको छलफलपछि सो निष्कर्ष निकालेर ओलीलाई सन्देश पठाईएको प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।
आजको छलफलमा सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महत, तथा नेता कृष्णप्रसाद सिटौलालगायत सहभागी थिए । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महतले देशलाई ऋणको भार थुपार्नेगरि ऋण लिन नसकिने र अनुदान भए आपत्ति नहुने सन्देश ओलीलाई पठाएको जानकारी दिए ।
‘म आफैं परराष्ट्रमन्त्री हुँदा बीआरआईको एमओयूमा हस्ताक्षर भएको हो । बीआरआईअन्तर्गतको परियोजना लिने विषयमा कांग्रेसमा द्विविधा छैन’, उनले भने, ‘तर देशलाई ऋणको भार थप्ने अवस्थालाई स्वीकार्न सकिँदैन ।’
कांग्रेसले सत्ता साझेदार दलका रुपमा सुझाव दिएको बताउँदै सरकारका तर्फबाट निर्णय गर्ने अधिकार प्रधानमन्त्री ओलीलाई छाडिएको जनाएको छ ।‘बीआरआईको वैश्विक दृष्टिकोणअनुसार अघि बढाइएको हो । यो धेरै ठूलो महत्वकांक्षी परियोजना हो । छिमेकी र शक्ति राष्ट्रले आफ्नो आर्थिक शक्तिलाई प्रयोग गर्नु अनौठो होइन’, उनले भने, ‘चीन नेपालको छिमेकी हो, हामीले चीनसँग उत्कृष्ट सम्बन्ध राख्नुपर्छ । मित्रवत् सम्बन्ध राख्नुपर्छ ।’
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेलामा बीआरआईले चर्चा पाएको छ । कांग्रेसले बीआरआईका नाममा ऋण लिन नहुने बताउँदै आएको छ । सतप्रतिशत अनुदान भए लिने नत्र लिन नहुने पक्षमा कांग्रेस छ । मंसिर १७ गते चीन भ्रमणमा जान लागेका ओलीले बीआरआईमा हस्ताक्षर गर्ने तयारी गरेका छन् । तर,बीआरआई ऋण कि अनुदान भन्नेमा विवाद देखिएको छ ।
नेपाली कांग्रेस ऋणमा लिन नहुनेमा अडिक रहँदा एमालेसहितका वामपन्थी दलहरु भने ऋण वाअनुदानजे भएपनि स्वीकार गर्नुपर्ने पक्षमा छन् । त्यसोत, प्रधानमन्त्री ओलीले पनि सार्वजनिक कार्यक्रममा चीन भ्रमणका क्रममा ऋणसम्बन्धी सम्झौता नहुने बताइसकेका छन् ।