काठमाडौं । महाधिवेशनमा चिट बाँड्दै आफ्नालाई छानिछानी जिताएको र विरोधीलाई खोजीखोजी हराएको आरोपमा विभाजन उन्मुख बनेर बाँचेको नेकपा एकीकृत समाजवादीलाई नेताहरुको कार्यविभाजन टुंग्याउन फेरि सकस परेको छ । पार्टीका नेताहरुको कार्यविभाजन हुन नसक्दा गत असारको १०औं राष्ट्रिय महाधिवेशबाट केन्द्रीय कमिटीमा मनोनीत भएका ३४४ जना नेताहरु ५ महिनादेखि वेरोजगार बनेका छन् ।
एकातिर पार्टीमा लामो समयदेखि संगठन निर्माणमा लागेको र अप्ठ्यारोमा पर्दा सदैव नेतृत्वलाई साथ दिएको तर,महाधिवेशनमा पदाधिकारीमा छानीछानी हराएको भन्दै असन्तुष्ट नेताहरु धमाधम पार्टी छाड्ने र अर्कोतिर कार्यविभाजनमै सकस देखिएपछि बाँकी रहेका नेता तथा कार्यकर्तामापनि चरम निरासा छाएको छ । गत असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा भएको महाधिवेशनले ३४४ जनाको जम्बो केन्द्रीय कमिटी चयन गरेको थियो ।
सुरुमा अध्यक्ष, सम्मानीत नेता र महासचिवसहित ९३ जना केन्द्रीय सदस्य सर्वसम्मत छानेको एकीकृत समाजवादीले पछि बाँकी केन्द्रीय सदस्यपनि सर्वसम्मत छान्दै ३४४ जना पुर्याएको थियो । तर,पदाधिकारी र पोलिटब्यूरोमा भने चुनाव गरिएको थियो । महाधिवेशनको म्याण्डेट विपरीत भएको उक्त चुनावमा अध्यक्ष माधवकुमार नेपाल पक्षले आफूनिकटलाई जिताउन खुलमखुल्ला चिट बाँडेको सार्वजनिक भएपछि महासचिव घनश्याम भुसाल र सम्मानीत नेता झलनाथ खनाल पक्ष रुष्ट छन् ।
त्यसोत नेपालसँग अध्यक्षमा प्रतिस्पर्धा गर्न भुसालले उम्मेदवारी समेत दिने घोषणा गरेका थिए । तर,पछि सर्वसम्मतबाट छान्ने आन्तरिक सहमति भएपछि उनी पछि हटेका थिए । यद्यपि त्यसो हुन सकेन् । भुसाल रखनाल पक्षका नेताहरु जीवनराम श्रेष्ठ, विजय पौडेल, विरोध खतिवडालगायतका नेताहरु पदाधिकारीमा हार्न पुगे भने विगतदेखि माधव नेपाललाई दरिलो साथ दिँदै आएकी नेतृ रामकुमारी झाँर्की महिला उपाध्यक्षमा लज्जास्पद हार ब्यहोर्न बाध्य भईन् ।
पदाधिकारी र पोलिटब्युरोमा पराजित नेताहरूले सबै कमिटी भंग गरेर अगाडि बढ्नुपर्ने माग गरेका छन् । पदाधिकारी र पोलिटब्युरो खारेज गर्दै केन्द्रीय केन्द्रीय कमिटी बैठक बोलाएर अगाडि बढ्नुपर्नेमा उनीहरूको जोड छ । तर, अध्यक्ष नेपाल भने हालकै पदाधिकारी टिमलाई लिएर हिँड्ने पक्षमा पुगेका छन् ।
कार्यविभाजनका लागि अध्यक्ष नेपाल, सम्मानित नेता खनाल, वरिष्ठ नेताहरू डा। बेदुराम भुसाल, घनेन्द्र बस्नेत र प्रमेश हमाल तथा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव भुसाल रहेको कार्यदल गठन गरिएको छ । पार्टी एकता कायम राख्न असन्तुष्ट नेताहरूलाई समेटेर कार्यविभाजन गर्ने तयारी रहेको नेताहरूले बताएका छन् । एकीकृत समाजवादीका सांसदहरू किसन श्रेष्ठ, प्रेम आले, अमरबहादुर थापा, धनबहादुर बुढा र भानुभक्त जोशी तथा रामकुमारी झाँक्री, विरोध खतिवडा, विजय पौडेल, जीवनराम श्रेष्ठलगायत पार्टी नेतृत्वप्रति असन्तुष्ट छन् । प्रेम आलेले त पार्टी छाडेको घोषणा नै गरिसकेका छन् ।
कार्यविभाजनका लागि गठित कार्यदलले गत साता नै कामसकेको र कार्यविभाजन टुंगिएको भन्दै मिडियामा समचार सार्वजनिक भएको थियो । कार्यदलले माथिल्लो कमिटीदेखि तल्लो तहसम्म नेताहरूको ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गरेको पोलिटब्यूरो सदस्य आलोक रायमाझीले जानकारी दिएको हवला दिँदै समचार सार्वजनिक भएको थियो । रायमाझीले गत साता नै जिम्मेवारी तोकिएको सूचनासहितको अन्तर पार्टी निर्देशन (अपानी) जारी हुने जानकारी गराएका थिए । यद्यपी महासचिव भुसाललगायतका नेताहरु भने कार्यविभाजन नटुंगिएको बताउँदैआएका छन् ।
यता वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले आफू संगठन विभागको प्रमुख हुनुपर्ने अडान राखेपछि कार्यविभाजनको विषय थप गिजोलिएको छ । एकीकृत समाजवादीमा महासचिवले संगठन विभाग प्रमुखको जिम्मा पाउने व्यवस्था छ । त्यसो हुँदा स्वत भुसालले संगठन विभागक प्रमुखको जिम्मेवारी पाउनेछन् । तर,पाण्डेसहित उपाध्यक्ष जगन्नाथ खतिवडाले पनि सोही पदमा आँखा गाडेपछि भने कार्यविभाजनमा झनैसकस थपिएको नेताहरु बताउँछन् ।