काठमाडौं, १३ मंसिर । नेकपा (एमाले) का नेता विशाल भट्टराईले सरकारले मानव तस्करीमा लिलाबल्लभ अधिकारीको संलग्नता नदेखेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले लिलाबल्लभको संलग्नता पुष्टि हुने कुनै पनि प्रमाण फेला नपरेपछि थुनामुक्त गरिएको बताएका हुन् ।
‘लिलाबल्लभ अधिकारीलाई सरकारले गरेको होईन । सरकारले गरेको भए टोपबहादुर रायमाझी कसरी थुनामा बस्छन् त ? कसरी हाम्रो केवी उप्रेती जेलमा परे होलान् भन्नुस् त ?’ प्रश्न गर्दै उनले भने, ‘मुख्यकुरा के हो भने उहाँ (लिलाबल्लभ) को त्यसमा सरकारले संलग्नता देखेन । छानविन त पक्रेर ल्यायो, हत्कडी लगाएर ल्याएर ११ दिन थुनेन ? भेटेन त के गर्नुहुन्छ ?’
साथै, केपी शर्मा ओली नेतृत्वको सरकार बनेसँगै देशमा रहेका चरम निराशा हटेर गएको उनले बताए । ओली सरकार बनेसँगै राजश्व उठेको, पुँजीगत खर्च बढेको उनले बताए । अर्थतन्त्र पनि सकारात्मक अवस्थामा रहेको उनले बताए ।
‘त्यसबेला चरम निराशा थियो देशमा, अर्थतन्त्र डामाडोलको अवस्थामा थियो । थुप्रै समस्याहरु देशमा थिए । त्यसमध्ये अर्थतन्त्रको क्षेत्रमा हिजोको तुलनामा केही न केही सकारात्मक अवस्था बनेको छ । राजश्व पनि विगत वर्षको तुलनामा राम्रो उठेको छ । पुँजीगत खर्चपनि विगतका वर्षको यो अवधिको तुलनामा राम्रो छ,’– उनले भने ।
मानव तस्करीको आरोपमा पक्राउ गरेका एमाले नेता एवं कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी पक्राउ गरेका थिए । अधिकारीसँगै जापान गएका ३ जनासहित ११ जनालाई सरकारले मानव तस्करीको अभियोगमा मुद्दा चलाएको छ । पूर्वमन्त्री अधिकारीको अनुसन्धानमा सत्ताको छाँया परेको र उनलाई उन्मुक्ति दिइएको भन्दै आलोचना भइरहेको छ । File Photo/RN