काठमाडौं, १३ मंसिर । राजनीतिक विश्लेषक केशव दाहालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल भइसकेको टिप्पणी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले देशको आर्थिक शंकट व्यवस्थापन, विकासको सपना, सुशासन, भ्रष्टाचार अन्त्य गर्ने कुरा लगायतको गतिविधि हेर्दा ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल देखिएको बताएका हुन् ।
‘एउटा प्रधानमन्त्री सफल कि असफल भनेर हेर्नका लागि उहाँले कतिवटा मिटिङ गर्नुभयो, कतिवटा उद्घाटन गर्नुभयो, कतिवटा भाषण गर्नुभयो भन्ने कुराले निर्धारण गर्दैन । यो देशको खास शंकट समाधान गर्नका लागि, त्यो आर्थिक शंकट होला, विकासको सपनाको कुरा होला, सुशासन कायम गर्ने कुरा, भ्रष्टाचार अन्त्य गर्ने कुरा, यी यावत चिजमा उहाँको दूरदृष्टि के हो ? उहाँले नीतिगत र संरचनागत कुरामा के ब्रेक थ्रू गर्नुभयो भन्ने कुराले उहाँको सफलता र असफलता निर्धारण हुन्छ । त्यो हेर्दा उहाँ सफल हुनभएन, उहाँ असफल हुनुभयो,’– उनले भने ।
साथै, प्रधानमन्त्री ओली र उनको पार्टी एमालेले विगत ३० वर्षदेखि असफल प्रयास गर्दै आइरहेको बताए । ‘केपी ओलीको सरकार अथवा एमालेको सरकारलाई अहिलेको ४ महिनाको घटनाबाट मात्रै हेर्न हुँदैन । नेपाली राजनीतिमा विगत ३० वर्षदेखि केपी ओली र केपी ओलीको पार्टी सरकारमा छ । ३० वर्षदेखि यो पार्टी असफल छ,’– उनले भने ।