Logo

चीनको शर्त मानेर बीआरआईको अनुदान पनि लिन हुँदैनः एमाले नेता गैरे (भिडिओसहित)



काठमाडौं, १३ मंसिर । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले चीनको शर्त मानेर बीआरआईअन्तर्गतको अनुदान पनि लिन नहुने बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले चिनिया विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) को अनुदान लिँदा पनि नेपाली ठेकेदार कम्पनीहरुले ठेक्का पाउने, सामानहरु नेपाली नै प्रयोग गर्न पाउने, नेपाली कामदारहरुले रोगजारी पाउने लगायतका सुनिश्चितता हुनुपर्ने बताएका हुन् ।

साथै, नेपालको शर्तअनुसार न्यूनतम् व्याजदरमा चीन सरकारसँग ऋण सहायता पनि लिन सकिने उनको भनाइ छ । नेता गैरेले अनुदानमा पाएको भन्दैमा देश र जनताको हितविपरीत र देशको सार्वभौमता र प्राथमिकताले मान्यता नपाउने गरी लिन नहुने बताए ।

‘हाम्रो देशका युवाहरुले रोजगारी पाउने कुरा हाम्रो देशको शर्त हुनुपर्यो । ४ प्रतिशत व्याज हामी मान्दैनौं । त्यो व्याज हामीलाई स्वीकार्य छैन भन्ने शर्त नेपालकोृ हुनुपर्यो । उनीहरुले एउटा प्रस्ताव पारित गरे, अब चीनले पारित गरेपछि एमालेले मानिहाल्छ यो कुरा गलत हो । जसको सरकार भएपनि देश र जनताको हित, हाम्रो सार्वभौमता र प्राथमिकताले मान्यता पाउने, हाम्रो शर्तहरु लागू हुने स्थितिमा मात्रै हामीले अनुदान लिनुपर्छ । अनुदान पाइयो भन्दैमा जे पनि लिने गर्न सकिँदैन । उनीहरुको गलत शर्तमा अनुदान पनि लिन हुँदैन, लिन सकिँदैन,’– उनले भने ।

साथै, अनुदानमा लिइएको भन्दा थोरै व्याजदरमा लिइएको ऋणमा अत्यन्त राम्रा कामहरु भएका उद्धाहरण पनि रहेको उनले बताए । नेपालको साधन, स्रोत र राजश्वबाट जनताको अपेक्षाअनुसारको विकास निर्माणका काम अहिले नै गर्न असम्भव रहेको बताउँदै उनले न्यूनतम व्याजदरमा ऋण पाउँदा लिँदा नै उपयुक्त हुने धारणा राखे ।

‘हाम्रो स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि आँच नपुग्ने, हाम्रो असंलग्न परराष्ट्र नीतिमा तलमाथि नगर्ने, हामी उत्तर पनि नढल्किने, दक्षिण पनि नढल्किने, युरोप पनि नढल्किने, अमेरिकातिर पनि नढल्किने ।’ उनले भने, ‘उनीहरुको शर्त मानेर होईनकी हाम्रो शर्तलाई उनीहरुले स्वीकार गरेको, हाम्रो हित स्वीकार गरेको अवस्थामा शुलभ व्याजको ऋण लिने र अनुदान लिने कुरा विगतदेखि गर्दै आएको हो । फेरि पनि यो निरन्तर चल्छ । यसपटक हुन्छ कि हुन्दैन मैले भन्न सक्ने अवस्था छैन ।’



प्रतिक्रिया दिनुहोस्