Logo

कांग्रेस-एमाले सरकार मान्छे बेच्नेलाई जोगाउन र जोगिन बनेको रहेछः राजेन्द्र लिङ्देन



काठमाडौं, १३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस–एमाले गठबन्धन सरकार मान्छे बेच्नेलाई जोगाउन र जोगिनका लागि बनेको भन्ने पुष्टि भएको टिप्पणी गरेका छन् । स्थानीय तह उपनिर्वाचनको सन्दर्भमा कीर्तिपूरमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले एमाले नेता एवं कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिएर सरकारले जोगिन र जोगाउन कांग्रेस–एमाले मिलेको भन्ने कुरा पुष्टि गरेको बताएका हुन् ।

‘कांग्रेस र एमालेजस्तो पार्टी मिलेपछि देशमा के–के न होला भनेको । कांग्रेस र एमालेजस्तो पार्टी किन मिले होला ? कि यिनीहरुलाई एउटा ज्ञान आयो होला, पश्चाताप भयो होला, हिजो गर्न नसकेको महशुस भयो होला र अब हिजो जे गल्ती गरियो, गरियो अब गल्ती गर्न हुँदैन । अब धेरै मौका छैन । यो पटक चाहीँ गरेर देखाउनुपर्छ भनेर यिनीहरु जनताको लागि मिले होलान् भनेर आशा गरेको त एकले अर्कोको भ्रष्टाचार जोगाउनका लागि मिलेका रहेछन् ।’ उनले भने, ‘एकले अर्कोलाई संरक्षण गर्नका लागि यिनीहरु मिलेका रहेछन् भन्ने कुरा अहिले भटाभट देखिएको छ । कोशी प्रदेशका एउटा मन्त्री जापान मान्छे लाने गल्लावाल भएर गएको थियो । एमालेको नेता पक्राउ परेर कारबाही अगाडि बढायो, गर्छ कि त क्या हो भनेको त उसलाई त कारबाही गर्न मिल्दैन भनेर चोख्याइदियो । अहिले सत्ता गठबन्धन त्यस्तो कुराको लागि गरेको रहेछ ।’

साथै, वर्तमान सरकारले कांग्रेस नेता, उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंह वैद्यदेखि नेपाली नागरिकलाई भुटानी शरनार्थी बनाएर बेच्नेसम्मलाई जोगाएको र चोख्याएको उनको आरोप छ । ‘कांग्रेस नेताको दिदी बाल संगठनको जग्गा एक सय वर्षका लागि कौडीको मोलमा लिजमा दिएको कारबाही गर्नुको सट्टा अहिले चोख्याउनका लागि एमाले–कांग्रेसको गठबन्धन गरेको रहेछ । नेपाली जनतालाई भुटानी शरनार्थी बनाएर बेच्नेहरु चोखिन र जोगिनका लागि यो गठबन्धन गरेको रहेछ,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्