काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आज मध्य रातीबाट मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आज राती १२ बजेबाट मौन अवधि सुरु हुने जनाउको छ । मौन अवधिमा चुनावको कुनैपनि प्रचार प्रसार वा उम्मेदवारलाई भोट माग्न पाईनेछैन् ।
मौन अवधि सुरु हुनै लाग्दा दलहरु प्रचार प्रसार र भोट माग्ने चटारोमा छन् । आगामी आइतबार देशभरका ४१ पदमा उपनिर्वाचन हुँदैछ । रिक्त रहेका २ जिल्ला समन्वय समिति प्रमुख र एक वडाध्यक्षमा निर्विरोध उम्मेदवार निर्वाचित भएपछि ४४ मध्ये ४१ स्थानमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । ४१ मध्ये अध्यक्ष दुई, उपाध्यक्ष चार, प्रमुख एक, उपप्रमुख एक र ३३ वडाध्यक्ष पदमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
४१ पदका लागि हुने उपनिर्वाचनमा भिड्न दलगत र स्वतन्त्र गरि ३७७ जना मैदानमा छन् । जसमध्ये प्रमुख चार दल नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र रास्वपाले २० जनामहिलालाई मैदानमा उतारेका छन् । उपनिर्वाचन हुने अधिकांश पदमा गत निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।
दलहरुको आ-आफ्नै दाउ
उपनिर्वाचनको मिति नजिकिँदै गर्दा ठूला दलहरुले आम निर्वाचनकै झल्को दिनेगरि प्रचार प्रसार गरिरहेका छन् । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरसहित कीर्तिपुरको १ र ४ तथा काठमाडौं महानगरपालिका-१६ मा हुने उपनिर्वाचनलाई ठूला दलले विशेष महत्व दिएका छन् । ती क्षेत्रमा आफ्ना दलका उम्मेदवार जिताउन हरसम्भव प्रयास गरिरहेका छन् ।
दवावमा कांग्रेस-माओवादी
उपनिर्वाचन हुने प्रमुख ८ पदमा गत निर्वाचनमा नेपाली कांग्रेस र माओवादीले जितेका थिए । काठमाडौंको कीर्तिपुरमा मेयरसहित दोलखाको गौरिशंकर, जाजरकोटको नलगाड र बाजुराको स्वामीकात्तिक खापरको उपप्रमुख जितेको कांग्रेसले मोरङको ग्राथान र दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पनि जितेको थियो । अहिले सो पदमा उपनिर्वाचन हुँदैछ । त्यस्तै माओवादीले रुकुम पूर्वको पुथा उत्तरगंगाको उपाध्यक्ष र हुम्लाको सार्केगाड गाउँपालिकाको उपाध्यक्ष जितेको थियो । त्यहाँ पनि अहिले उपनिर्वाचन हुँदैछ ।
स्थानीय तहका प्रमुख र उपप्रमुख सहित महत्वपूर्ण ८ पदमा जित निकालेका यी दुवै दल आंशिक रुपमा ०७९ को उपनिर्वाचनमा गठबन्धन गरेर चुनावमा होमिएका थिए । कीर्तिपुर, महावु र ग्रामथानमा एक्लै चुनाव लडेको कांग्रेसले नलगाड, स्वामीकात्तिक खापर र गौरिशंकरमा माओवादीसँग मिलेर उम्मेदवारी दिएको थियो । त्यस्को बदलामा कांग्रेसले पुथा र सार्केगाडमा माओवादीलाई सघाएको थियो । प्रमुख र उपप्रमुख मात्र होइन वडाध्यक्षमा पनि अधिकांश कांग्रेस र माओवादीबाट निर्वाचित भएका स्थानमा रिक्त छन् ।
गत निर्वाचनमा गठबन्धन गरेका यी दुई दल अहिले एक्ला एक्लै चुनावी मैदानमा होमिएका छन् । गत निर्वाचनमा गठबन्धन गरेपनि अहिले सत्ता समीकरण फेरिएको कारण कांग्रेस सत्तारुढ दलको हैसियतामा मैदानमा उत्रिँदा माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दलको रुपमा चुनावी मैदानमा उत्रिँदैछ ।
एकातिर एक्लाएक्लै चुनावी मैदानमा उत्रिनु र अर्कोतिर नयाँ शक्तिको रुपमा उदाएको रास्वपा पनि पहिलो पटक स्थानीय तहको उपनिर्वाचनमा सहभागी भएको हुँदा कांग्रेस र माओवादीलाई गत चुनावको विरासत जोगाउन सकस परेको विष्लेषण भइरहेको छ । यद्यपि दुवै दलले पूरानो जितलाई कायम राख्दै थप स्थानमा जित्ने दाबी गरिरहेका छन् ।
सहानुभूतिको मतको आश
उपनिर्वाचन हुन लागेको स्थानीय तहमा यसपटक नेपाली कांग्रेस र माओवादी केन्द्रले सहानुभूतिको मत बटुल्ने उदेश्यसहित उम्मेदवारी दिएका छन् । गत निर्वाचनमा गौरिशंकरको उपाध्यक्षमा निर्वाचित भएका श्यामसुन्दर तामाङको निधनपछि त्यहाँ उपनिर्वाचन हुँदैछ । उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । यसपटक कांग्रेसले उनै श्यामसुन्दरकी श्रीमती पासाडीकी शेर्पालाई टिकट दिएको छ ।
जाजरकोटको नलगाडको उपप्रमुखमा निर्वाचित भएकी सरिता सिंह भूकम्पमा परेर बितेपछि कांग्रेसले अहिले सरिताकी भाइबुहारी इन्द्रा चन्द सिंहलाई मैदानमा उतारेको छ । माओवादीले पनि सहानुभूतिको मत तान्ने उदेश्यले पुथा उत्तरगंगामा उपाध्यक्ष जितेर बितेकी भूपेन्द्रा बुढाकी दिदी नरपुरा बुढालाई मैदान उर्तादा महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ को वडाध्यक्षमा आइतीमाया यादवलाई टिकट दिएको छ । उनी गत निर्वाचनमा निर्वाचित भएर बितेका मुकेश कुमार यादवकी श्रीमती हुन् ।
गुमेको विरासत फर्काउने ध्याउन्नमा एमाले
उपनिर्वाचन फाप्ने राजनीतिक दलको रुपमा परिचित सत्तारुढ दल नेकपा एमाले यस उपनिर्वाचनमा सबैभन्दा सहज अवस्थामा देखिन्छ । उपनिर्वाचन हुने ४१ पदमध्ये मात्र ८ स्थानको वडाध्यक्ष एमालेले यसअघि जितेको थियो । ठूला ८ पदमा कुनैपनि आफ्नो पार्टीबाट निर्वाचित भएको स्थान नभएको हुँदा एमालेले पूरानो विरासत फर्काउने चुनावको रुपमा लिएको छ ।
कीर्तिपुरको मेयरसहित ग्रामथान र महावुको अध्यक्ष ०७४ सालमा एमालेले जितेको थियो । तर, गठबन्धनको बलमा ०७९ को निर्वाचनमा यी तिनै क्षेत्र कांग्रेसले खोसेको थियो । अझ कीर्तिपुरमा त ३० वर्षदेखि एकछत्र जित्दै आएको थियो । सो पालिका गत निर्वाचनमा कांग्रेसले जितेको थियो । ०७४ सालमा मेयर उपमेयरसहित २ तिहाई सदस्य जितेको एमाले गत निर्वाचनमा नगरभरिमा एक वडासदस्यमा खुम्चिएको थियो । यसपटक एमालेले गुमेको विरासत फर्काउन भएभरको शक्ति प्रयोग गरिरहेको छ ।
कीर्तिपुरको मेयरमा एमालेले अनुभवि र पाका उम्मेदवार डा सुरेन्द्र मानन्धरलाई उठाउँदा नेपाली कांग्रेसले नगर सभापति कृष्णमान डंगोल र माओवादी केन्द्रले डा शिवशरण महर्जनलाई टिकट दिएको छ । त्यसोत कीर्तिपुरमा स्वतन्त्र उम्मेदवार राजमान मानव पनि भिड्दैछन् । उनलाई धरानका मेयर हर्क राईले समर्थन गरेका छन् ।
कीर्तिपुरमा एक्लै भिड्न लागेको एमालेलाई पुथा उत्तरगंगामा नेपाली कांग्रेस र स्वामीकात्तिक खापरमा माओवादी केन्द्रले साथ दिएको छ । पुथा उत्तरगंगामा कांग्रेसको चुनाव चिन्हमा एमालेकी केशकुमारी तुलाचन भिड्दा स्वामीकात्तिक खापरमा एमालेकी सुलोचना भण्डारी बुढालाई माओवादीबाट उम्मेदवार बनेकी राजुकुमारी विकले साथ दिएकी छन् ।