Logo

उपनिर्वाचनमा पार्टीले राम्रो जनमतको अपेक्षा गरेको छः पूर्ण बस्नेत



काठमाडौं, १३ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले उपनिर्वाचनमा पार्टीले राम्रो जनमतको अपेक्षा गरेको बताएका छन् । बस्नेतले पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका अधिकांश शीर्ष नेताहरु पार्टीको तर्फबाट उम्मेदवारी रहेको निर्वाचन क्षेत्रमा केन्द्रित भएर प्रचारप्रसार र घरदैलो कार्यक्रम गर्ने काम गरिएको र यस दौरानमा जनतासँगको साक्षात्कारको अनुभवबाट उपनिर्वाचनको परिणाम सकारात्मक हुने बताएका हुन् ।

‘पार्टीले उपनिर्वाचनमा आफ्नो निर्वाचन क्षेत्रलाई राम्रोसँग बुझेका व्यक्तिलाई उम्मेदवार चयन गरेको छ । अर्कोतिर जनाधारको अवस्था हेरीकन उम्मेदवारी दिइएको छ । पार्टीले भदौदेखि सुरु गरेको जनतासँग जसपा नेपालको चार महिने संगठन निर्माण अभियानले उपनिर्वाचनलाई राम्रै सहयोग पुर्याएको छ । तयारीका साथ पार्टी उपनिर्वाचनमा होमिएका छ । निर्वाचन क्षेत्रका जनताले पत्याएका व्यक्ति नै उम्मेदवार भएका कारण हामीले उपनिर्वाचनबाट राम्रो आशा गरेका छौं,’ बस्नेतले भने ।

उनले पार्टीको संगठनलाई मध्यनजर राख्दै पार्टीको शक्तिलाई एकत्रित गरी परिणाम निकाल्न सकिने गरी खास खास स्थानमा उम्मेदवारी दिइएको बताएका छन् ।

जसपा नेपालले उपनिर्वाचनमा विभिन्न १२ स्थानमा उम्मेदवारी दिएको छ । पार्टीले किर्तिपुरको नगरप्रमुखका लागि र मोरङको ग्रामथान गाँउपालिका अध्यक्ष पदका लागि उम्मेदवारी दिएको छ ।

जसपा नेपालले बाँकी दशस्थानका लागि दिइएको उम्मेदवारी वडा अध्यक्ष पदको लागि रहेको छ । जसअनुसार ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नं ५ को अध्यक्ष, सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ को अध्यक्ष, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्ष र महोत्तरीको रामगोपालपुर वडा नं २ को अध्यक्ष पदको लागि उम्मेदवारी दिएको छ ।

त्यसैगरी पार्टीको तर्फबाट रौतहटको ईशनाथ नगरपालिका वडा नं ७ को अध्यक्ष, रौतहट गढीमाई नगरपालिका वडा नं ८ को अध्यक्ष, किर्तिपुर नगरपालिका वडा नं ४ को अध्यक्ष, हेटौडा उपमहानगरपालिका वडा नं १२ को अध्यक्ष र कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १ को अध्यक्ष पदको उम्मेदवार बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्