Logo

कीर्तिपुरको मेयरमा उम्मेदवारी दिन डराएको रास्वपा समर्थन गर्न पनि हच्कियो, तटस्थ बस्ने



काठमाडौं । कीर्तिपुरको मेयरमा उम्मेदवारी नदिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न स्थानीय तह उपनिर्वाचनमा कसैलाई पनि समर्थन नगर्ने भएको छ ।

मंसिर १६ गते हुने उपनिर्वाचनका लागि रास्वपाबाट नगर सभापति जयराम कार्कीले आकांक्षा राखेपनि पूर्व कांग्रेसी विरासतको नेता भन्दै रास्वपाले टिकट दिएको थिएन् । कार्कीलाई टिकट नदिएको रास्वपाले अन्य उम्मेदवार नपाएपछि मनोनयन दर्ता गरेको थिएन् ।

आफ्नो पार्टीबाट उम्मेदवार नउठाएको रास्वपाले स्वतन्त्र उम्मेदवार राजमान मानव वा माओवादी केन्द्रका डा शिवशरण महर्जनमध्ये एक जनालाई समर्थन गर्ने तयारी गरेको थियो । तर, नेताहरुबीच कुरा नमिलेपछि कसैलाई पनि समर्थन नगर्ने निर्णयमा पुगेको स्रोतले जनाएको छ ।

रास्वपाले सुरुमा स्वतन्त्र उम्मेदवारी दिएका मानवालाई समर्थन गर्ने संकेत गरेको थियो । तर, उनलाई धरानका मेयर हर्कराज राईले समर्थन गरेपछि रास्वपा पछि हटेको स्रोतको भनाइ छ । पछिल्लो समय राई र रास्वपाबीच सम्बन्ध सुमधुर छैन् । गत वैशाखमा भएको एलामको उपनिर्वाचनमा रास्वपाका उम्मेदवारविरुद्ध राईले स्वतन्त्त उम्मेदवार खडा गरेका थिए । मुढा चिन्ह लिएर उठेका डेगेन्द्र लिम्बुलाई समर्थन गरेका राईले त्योबेला देखिनै रास्वपा सभापति रवि लामिछानेको विरोध गर्दै आइरहेका छन् ।

०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुँदैछ । कीर्तिपुरको मेयरमा यसपटक कांग्रेसबाट कृष्णमान डंगोल, एमालेका सुरेन्द्र मानन्धर र नेकपा माओवादीका शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार मानवबीच प्रतिस्पर्धा हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्