काठमाडौं । गृह मन्त्रालयले सामाजिक सञ्जालमा अमर्यादित गतिविधि नगर्न सबैसँग अनुरोध गरेको छ । शुक्रबार गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल लगायतका प्लेटफर्ममा विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवम् सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने जस्ता घृणाजन्य अभिव्यक्तिहरू नदिन अनुरोध गरेका छन् ।
‘पछिल्लो समयमा केही व्यक्तिले सामाजिक सञ्जाल लगायतका माध्यमको गलत प्रयोग गरी कानूनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुऱ्याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुऱ्याउने किसिमले घृणाजन्य अभिव्यक्ति गरिरहेकोतर्फ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । जो कोही व्यक्तिले जहाँसुकै रहेर गरे गराए पनि कानूनद्वारा बर्जित र दण्डनीय त्यस्ता गतिविधिलाई कानूनी दायरामा ल्याइने भएकोले त्यस्तो कार्य नगर्न नगराउनु हुन सम्बन्धित सबैमा सादर अनुरोध छ ’ विज्ञप्तिमा भनिएको छ ।
नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रताको हकको उच्च सम्मान व्यक्त गर्दै गृह मन्त्रालयले विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली-बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवम् सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुनेजस्ता घृणाजन्य अभिव्यक्ति र गतिविधि दण्डनीय अपराध रहेको स्मरण गराएको छ।