Logo

सरकारले वास्तविक सहकारी ठगलाई कानुनको कठघरामा ल्याउनै चाहेनः रास्वपा नेता पराजुली (भिडिओसहित)



काठमाडौं, १५ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले सरकारले सहकारी पीडित जनतालाई न्याय दिने कोशिस नै नगरेको टिप्पणी गरेका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारले अहिले सहकारी पीडितहरुको घाउमा नुनचुक छर्किने काममात्रै गरिरहेको बताए ।

नेता पराजुलीले कांग्रेस–एमालेकै मान्छेहरु सहकारी ठगीमा जोडिएकाले सरकारले वास्तविक पीडकलाई अनुसन्धानको दायरामै ल्यान नचाएको बताए । सरकारले सहकारीहरुको नियमन गर्ने संस्था बनाउने भन्दा पनि आलटाल गरिरहेको उनले बताए । नेता पराजुलीले सहकारीमा भ्रष्टाचार गरेको ठूलो रकम रहेको र त्यो कांग्रेस–एमालेका नेताहरुको रहेको बताए ।

‘हामी निरन्तर आन्दोलनमा छौं । सरकारले सहकारी पीडित जनतालाई बचत फिर्ताको सुनिश्चितता गर्नुपर्ने थियो । सहकारीका वास्तविक ठगहरुलाई कठघरामा उभ्याउनुपर्थ्यो । सहकारी क्षेत्रको दीगो व्यवस्थापन गर्नका लागि नियमन गर्न सक्ने स्वयत्त संस्था निर्माण गरेर काम गर्नुपर्थ्यो । सरकार यी कुनै पनि विषयमा चुइक्क पनि बोल्दैन । किनकी सबैभन्दा भ्रष्ट यिनीहरुको आफन्त छन्, नेताहरु छन्, यिनीहरुसँग नजिक छन् । यिनीहरु आफैंले खाएका छन् । त्यसकारण वास्तविक सहकारी पीडितलाई कानुनी कठघरामा ल्याउन चाहँदैन, बचाउन चाहन्छ ।’

साथै, फरक प्रसंगमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका सन्दर्भमा आफूहरुसँग कुनै छलफल नै नभएको बताए । वर्तमान सरकारले संसद्लाई समेत बन्धक बनाएर देशलाई दुई दलको नियन्त्रणमा राख्न खोजेको उनले बताए ।

‘हामीलाई प्रधानमन्त्रीको चीन भ्रमणसम्बन्धी औपचारिक जानकारी र छलफल नभएको हुँदा सबै जिम्मेवारी उहाँहरुले नै लिनुहुन्छ । औपचारिक रुपमा उहाँको विदेश भ्रमणसँग जोडिएर अहिले मैले कुनै पनि टिप्पणी गरिनँ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्