काठमाडौं, १६ मंसिर । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) भित्र चरम असन्तुष्टि बढेको छ । असन्तुष्टिको बावजुद एकीकृत समाजवादीका केही नेता तथा सांसदहरु लामो समयदेखि पार्टी फुटाउने अभ्यास गरिरहेका छन् । प्रतिनिधि सभामा १० सदस्यीय प्रतिनिधित्व रहेको एकीकृत समाजवादीमा ६ जना सांसद पार्टी विभाजनको पक्षमा उभिएको स्रोतको दाबी छ ।
पार्टी विभाजनको नेतृत्व गर्ने सांसदहरुमा कृष्णकुमार श्रेष्ठ र प्रेम आलेको नाम अग्रभागमा रहेको बताईन्छ । करिब १५० जना केन्द्रीय सदस्यहरु पनि पार्टी विभाजनको पक्षमा उभिएको स्रोतको दाबी छ । गत असारमा महाधिवेशन सकिएपछि पदाधिकारीको निर्वाचन भई ३४४ सदस्यीय केन्द्रीय समिति बनेपनि कार्य विभाजन हुन सकिरहेको छैन । पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।
एकीकृत समाजवादीका प्रभावशाली नेता मानिने विरोध खतिवडाले नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवादको क्रममा पार्टी फुटेपनि कुनै अनौठो मान्न नहुने बताए । उनले आफ्नो जीवनकालमा धेरै पार्टीहरु फुटेको र जुटेको देखेको बताउँदै एकीकृत समाजवादी फुटेमा आश्चर्य मान्नु नपर्ने बताए ।
‘तपाईँको पार्टी फुट्दैन ? भन्ने प्रश्नमा उनले भने, ‘अहिलेसम्म कुन चाहीँ पार्टी फुटेको छैन र ? अनौठो कुरा, हजारौं वर्षमा नभएको चिज, केही भयो भने पो त्यसलाई आश्चर्य मानेर ओहो यस्तो भएछ । भोलिपर्सी फेरि हुन्छ कि हुँदैन ? भनेर आश्चर्य मानेर गफ गर्नु । हाम्रै जीवनकालमा पार्टीहरु फुटेको पनि देखेका छौं, जुटेको पनि देखेका छौं । मारामार झगडा गरेको पनि देखेका छौं, लभ परेर चाटाचाट गरेको पनि देखेका छौं । हरिद्वार र मलद्वार भनेको पनि सुनेका छौं । हाम्रै कार्यकालमा सबै देखिइएको छ । यी सामान्य कुरा हुन्,’– उनले भने ।