काठमाडौं, १६ मंसिर । प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डीजी) प्रदीप अधिकारीबाट पैसा खाएको आरोप लगाएका छन् । जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्डले क्यानका डीजी अधिकारीसँग पैसा खाएर तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पदबाट हटाएको आरोप लगाएका हुन् ।
नेता सिंहले क्यानका डीजी अधिकारीसँग पैसा नबुझेको शीर्ष नेताहरु कोही पनि नरहेको दाबी गरे । अधिकारीले सबै नेताको घर–घरमा पैसा पुर्याउने गरेको उनको आरोप छ । ‘प्रचण्ड तपाईँले जसको नाम बारम्बार लिइराख्नु भएको छ, उसले पनि पैसा खाएर सुदन किरातीलाई हटाइदियो, प्रदीप अधिकारीलाई हटाएन । दुईवटैलाई बोलाएको थियो बालुवाटारमा । तपाईँलाई म घटना बताइदिन्छु, नेपाली जनतालाई यो कुरा थाहा हुनैपर्छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले के निर्देशन दिनुभयो भने– तपाईँहरु दुई जना मिलेर काम गर्नुस् । प्रदीप अधिकारीले भनेकी– यो मन्त्रीसँग मिलेर म काम गर्दिनँ । भोलिपल्ट मन्त्रीलाई हटाइदिनुभयो । प्रदीप अधिकारीलाई स्यावासी दिनुभयो । उसले जुनसुकै नेताहरुलाई चाहेको बेलामा पैसा पुर्याउन सक्छ,’– उनले भने ।