काठमाडौं, १७ मंसिर । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का ९० प्रतिशत नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्ने दाबी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कम्युनिष्ट पार्टीहरु अब धमाधम एमालेमा समाहित हुने बताएका हुन् । त्यसमध्ये पनि माधव नेपाल नेतृत्वको ९० प्रतिशत नेता तथा कार्यकर्ता र माओवादीका धेरै नेताहरु एमालेमा आउने उनको दाबी छ ।
‘अब सबै कम्युनिष्टहरु एमालेमा समाहित हुँदै जान्छन् । खास गरेर कार्यकर्ताहरु । हिजोको जस्तो टाउको मिलाउने होईन । टाउको मिलाउने अभ्यास असफल भइसक्यो । माओवादीका धेरै साथीहरु एमालेमा आउँछन् । हामी लिन्छौं । समाजवादीका ९० प्रतिशतभन्दा बढी साथीहरु एमालेमा आउँछन्, हामी लिन्छौं । एमाले उहाँहरुकै पार्टी हो,’– उनले भने ।
साथै, कांग्रेस–एमाले वर्तमान सत्ता गठबन्धन आगामी २०८४ को निर्वाचनसम्म नै अगाडि बढ्ने उनले बताए । उनले सत्ता समीकरणमा कुनै समस्या नरहेको र माओवादीको कारणले सरकार नढल्ने बताए । नेता भट्टराईले माओवादीको ३२ सिट खिया लागिसकेको उनको टिप्पणी छ ।
‘त्यो ३२ सिटको अब के काम छ र ? खिया लागिसक्यो । हिजो हामीले दर्शक दीर्घमा बसेर जादु मान्दियौं । जब मञ्चमा उनको जादु कस्तो रहेछ भनेर हेर्न जाँदा छलकपट भन्दा बाहेक केही पनि थिएन । त्यो अंकको अब केही काम छैन,’– उनले भने ।