काठमाडौं । आइतबार भएको स्थानीय तह उपनिर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । हालसम्म ३७ स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ ।
दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रले अग्रता लिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार माओवादीकी निमलेकी शेर्पाले ८०९ मतका साथ अग्रता लिँदा एमाले दोस्रो स्थानमा छ ।
एमालेकी उमा लुंगेली मगर शेर्पा ४४७ मतका साथ पछ्याईरहँदा तेस्रो स्थानमा रहेकी कांग्रेसकी पासदिकी शेर्पाले २४० मत ल्याएकी छन् ।
गौरीशंखर गाउँपालिकाका तत्कालिन उपाध्यक्ष श्यामसुन्दर तामाङको ३१ असार २०८० मा निधन भएको थियो।
उनी नेपाली कांग्रेसको तर्फबाट गौरीशंखर गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका थिए। उनको निधनपछि रिक्त रहेको उपाध्यक्ष पदमा उपनिर्वाचन भएको हो।
गौरीशंकरमा आइतबार उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा १५ हजार ७ सय १८ मतदातामा ७ हजार ५ सय ८९ मत खसेको थियो। उक्त पालिका उपाध्यक्ष बन्न राजनीतिक दलका र स्वतन्त्र गरी १६ जना उम्मेदवार चुनावी मैदानमा छन्।