Logo

उपनिर्वाचनमा राजावादीको कन्तबिजोग, लिङ्देनको गृहजिल्लामा हलोलाई २६ भोट, राप्रपाका ८ उम्मेदवारले कटाएनन् १० मत



काठमाडौं । आइतबार भएको स्थानीय तह उपनिर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । स्थानीय तहका विभिन्न ४१ पदमा गत आइतबार उपनिर्वाचन भएको थियो ।

आइतबार भएको उपनिर्वाचनमा रिक्त ३५ वडामध्ये नेपाली कांग्रेसले १६ वटामा जित निकाल्दा माओवादीले सात, एमालेले ५ र जसपा नेपालले २ वडामा जित निकाल्दा नेपाल मजदुर किसान पार्टी, नेकपा एस, रास्वपाले एक स्थान तथा एउटा वडाध्यक्ष स्वतन्त्रले जितेका छन् । भने पालिकातर्फ कांग्रेसले एक नगरपालिका प्रमुख जित्दा माओवादीले एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष र एक उपमेयर जितेको छ । एमालेले पनि एक अध्यक्ष र दुई उपाध्यक्ष जितेको छ ।

४१ स्थानकै अन्तिम मत परिणाम सार्वजनिक हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने लज्जास्पद हार भोगेको छ । उपनिर्वाचन सम्पन्न भइरहँदा राप्रपाले जित निकाल्न सकेन भने आशा गरिएअनुसारको मत समेत प्राप्त गर्न सकेन । राजसंस्था पुनर्वहाली र हिन्दु राज्य कायम गराउने एजेण्डासहित राजनीतिमा सक्रिय रहेको राप्रपालाई उपनिर्वाचनले भने झापड दिएको छ । अझ पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनकै गृह जिल्ला झापामा भएको उपनिर्वाचनमा पार्टीको जमानत समेत जफत भएको छ । लिङ्देनको गृहजिल्ला झापाको कन्काई नगरपालिका ६ मा राप्रपाका उम्मेदवारले २६ भोट ल्याउँदै जमानत जफत गरेका हुन् ।

उपनिर्वाचन भएका अधिकांश ठाउँमा उम्मेदवारी दिएको राप्रपाका ८ जना उम्मेदवारले त कम्तीमा १० मतसमेत ल्याउन सकेनन् । राप्रपाबाट तेह्थुमको लालिगुराँस नगरपालिका ८ को वडाध्यक्षमा राप्रपाबाट उम्मेदवार बनेका रत्‍न बहादुर श्रीपालीले ४ मत ल्याएका छन् ।

चन्द्रमणि दाहाल राप्रपाको तर्फबाट ओखलढुंगाको मोलुङ गाउँपालिकाको ५ मा उम्मेदवार थिए । गत निर्वाचनमा नेपाली कांग्रेसले जित्दा यसपटक नेकपा एमालेले जित निकाल्यो भने राप्रपाका दाहालले ३ मत ल्याए । रौतहटको गढीमाई ८ मा रामवालक साहले ४ मत ल्याउँदा महोत्तरीको रागोपालपुर नगरपालिका २ मा मोहम्द मनान खाँले २ मत पाए ।

कुशे गाउँपालिका ७ मा लाल बहादुर खत्रीले ८ तथा गुल्मीको मसिकोट नगरपालिका वडा नम्बर १ मा राप्रपाकी इश्वरी खातीले ५ मत र सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ का उम्मेदवार राम कुमार यादवले ६ मत प्राप्त गरे । रोल्पाको रुन्टीगडी ४ मा पहल बहादुर वली १० मा रोकिए ।

अन्त के छ राप्रपाको अवस्था ?

यी ८ स्थान बाहेकका अन्य केही स्थानमा राप्रपाले दोहोरो अंकमा मत पाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार राप्रपाको तर्फबाट कीर्तिपुरको मेयरमा ध्रुब महर्जनले ९९५, कीर्तिपुर १ मा सुरेन्द्र प्रसाद उप्रेती ६४ वडा नम्बर ४ मा बिजेस बस्नेत १४२, काठमाडौं १६ श्याम कृष्‍ण श्रेष्‍ठ ७७४ तिलगुफा नगरपालिका ४ कालिकोटमा गोगन बहादुर शाही १७ ग्रामथान गाउँपालिका अध्यक्षमा दिनेश कुमार थन्दार ५५५ , डाक्नेश्वरी नगरपालिका १ सप्तरीमा सतिश कुमार चौधरी थारु १६५, त्रियुगा नगरपालिका १२ उदयपुरमा लाल वावु साह १७, बेलका ९ उदयपुरमा टिका प्रसाद फुयाल २७, सुनसरीको गढी गाउँपालिका ६ मा कबिता कुमारी उराव ८७, बर्दियारको राजापुर नगरपालिका ६ मा रामनारायण प्रसाद जयसवाल १७, हेटौंडा १२ मा प्रेम बहादुर भोलन १७८ मत पाएका छन् ।

त्यस्तै ककनी गाउँपालिका २ नुवाकोटमा खेम बहादुर थापा २८, धनुषाधाम नगरपालिका १ मा राम देव सिंह दनुवार २७, दोलखाको गौरिशंकर गाउँपालिकाका उपाध्यक्षमा मन कुमारी श्रेष्‍ठ ११८, गोरखा नगरपालिका ५ मा कल्पना राना १२, शुद्दोधन गाउँपालिका १ मा इनताज अहमद धोवी ६६, बर्दियाको ठाकुरबाबा ४ मा रत्नले ५२, दैलेखको दुल्लु १३ मा रेशम वहादुर मल्ल १३, दैलेखकै महाबु गाउँपालिका अध्यक्षमामा सुर्जे रावत ४७, हुम्लाको सार्केगाड गाउँपालिका उपाध्यक्षमा संगीता शाही ५१, कञ्चनपुरको भीमदत्त नगरपालिका ६ मा सुसिल कुमार भट्ट ३६९ र झापाको कन्काइ ६ मा नारायण प्रसाद निरौलाले २६ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्