Logo

प्रधानमन्त्री ओलीको चीन भ्रमणः पोखरा एयरपोर्टको बारेमा कुरै उठेन



काठमाडौं, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण पूरा गरेर नेपाल फर्किएका छन् । आज (बिहीबार) उनी चार दिने भ्रमण सकाएर नेपाल फर्किएका हुन् । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा पोखरा एयरपोर्टको ऋण अनुदानमा परिणत गरिदिन आग्रह गर्नेबारे चर्चा भएको थियो । तर, प्रधानमन्त्री ओलीले पोखरा एयरपोर्टका बारेमा कुरै नउठेको बताए । ‘पोखरा एयरपोर्टका बारेमा केही कुरा उठ्यो ?’ भन्ने प्रश्नमा उनले भने, ‘कुरा उठेन ।’

सरकारले पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउनका लागि चीनको एक्जिम बैंकबाट करिब २५ अर्ब ८८ करोड रुपैयाँ (१ अर्ब ३३ करोड ८७ लाख ४० हजार चिनियाँ युआन) ऋण लिएको छ । प्रधानमन्त्री ओली चीन भ्रमणमा गएको बेला उक्त ऋणलाई अनुदानमा परिणत गरिदिन आग्रह गर्ने भन्नेबारे व्यापक छलफल भएपनि ओलीले सो विषयमा कुरै नउठेको बताए ।

साथै, उनले आफ्नो चीन भ्रमणको दौरान ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअपरेसन’ मा हस्ताक्षर भएको विषयमा प्रष्ट पार्दै चीन भ्रमणबाट प्राप्त कुरा ऋण नभएको बताए । ‘अस्ति मैले आमसभामा पनि हामी कुनै ऋण लिन जाँदैछैनौं भनेको थिएँ । ऋणसम्बन्धी कुनै कुरापनि चलेन । मैले यहाँ बोलेकै थिएँ । कुरापनि चलेन । छलफल पनि भएन । हामीले यसपल्ट बीआरआईअन्तर्गत विभिन्न परियोजनाहरुको कुरा गर्यौं । हरेक परियोजनाअन्तर्गत पछि हामी छुट्टै छलफल, छुट्टै एग्रिमेन्टहरु गर्छौं । र, त्यसको इप्लिेमेन्टेशन कसरी गर्छौ भन्ने सम्बन्धमा । अहिले हामीले जे प्राप्त गरेका छौं । त्यो ऋण होईन भन्ने कुरा धेरैपल्ट भनियाछ । अब धेरै दोहोर्याउन नपरोस भन्ने मेरो आग्रह छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्