काठमाडौं, २० मंसिर । आगामी २०८४ को निर्वाचनमा बहुमत ल्याएर एकलौटी सरकार बनाउने लक्ष्यसहित अगाडि बढेको नेकपा (एमाले) पछिल्लो समय निरिह देखिएको छ । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि एमाले मिसन २०८४ को यात्रामा अगाडि बढेको र एक्लै बहुमतको सरकार बनाउने बताएका थिए ।
‘०८४ मा एमाले एक्लै चुनाव लडेर बहुमत ल्याउने मिसन हो । कांग्रेससित सत्ता सहकार्य गरे पनि निर्वाचनमा आ–आफ्नो नीति लिएर चुनावमा जानेछौं,’– केही समयअघिसम्म प्रधानमन्त्री ओलीले भन्दै आएका थिए ।
तर, प्रधानमन्त्री ओली चारदिने चीन भ्रमणबाट फर्किने क्रममा परिस्थिति त्यस्तो रहेन । उनले ०८४ मा एमालेले बहुमत ल्याउन नसक्ने संकेत गरे । वर्तमान सरकार ०८४ सम्मै अगाडि बढ्ने, आफूले कांग्रेस सभापति शेरबहादुर देउवालाई १८ महिनापछि सत्ता हस्तान्तरण गर्ने र ०८४ को निर्वाचनपछि कुनै दलले बहुमत ल्याए उसैले सरकार बनाउने नभए मिलेर अगाडि बढ्ने उनले सुनाए । ‘हाम्रो चुनावसम्मको एग्रिमेन्ट छ । चुनावपछि हामी हरेकले बहुमत ल्याउने कोशिस गरौंला । बहुमत आयो भने बहुमतको सरकार बनाउँला । आएन भने अरु तरिकाहरु होलान्,’– उनले भने ।
प्रतिपक्षमा रहँदा निकै आक्रमक देखिने ओली प्रधानमन्त्री बनेसँगै निकै निरिह देखिएका छन् । चीन भ्रमणमा समेत कांग्रेसको दवाबमा उनले स्वविवेकले समझदारीमा हस्ताक्षर गर्न नपाएको चर्चा छ । एमाले सत्तामा गएसँगै भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनले समेत ओरालो यात्राको संकेत गरिसकेको छ ।