Logo

बीआरआईबारे एमाले सचिव महासेठको प्रष्टोक्तिः ‘फाइनान्सिङ एड’ भनेको ऋण र अनुदान दुवै हो



काठमाडौं, २१ मंसिर । नेकपा (एमाले) का सचिव एवं पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण पूर्ण रुपमा सफल भएको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपाल र नेपाली जनताको चाहनाअनुरुप प्रधानमन्त्री ओलीको भ्रमण सफल भएको उनले बताए । ‘नेपालीहरुको सोचअनुरुप नै सहमतिहरु भएको छ, सम्झौता भएको छ । प्रत्येक दृष्टिकोणले यो भ्रमण सफल भएको मैले मात्रै होईन, साह्रा नेपालीले महशुस गरेका छन्,’– उनले भने ।

साथै, नेता महासेठले बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) मा नेपालले ऋण र अनुदान दुवै स्वीकार गरेको बताए । ‘ऋण लिन हुँदैन, सबै अनुदानमा नै लिनुपर्छ यस्तो सोच्नेहरु जसले राजनीति र अर्थतन्त्र बुझेको छैन, त्यस्ता साथीहरुले यस्ता अफवाह फैलाउने हो । क्ुनै पनि देशले शतप्रतिशत अनुदान दिँदैन । यसपाली पनि बीआरआईमा हस्ताक्षर भएको छ, त्यसमा ऋण, अनुदान दुवै छ,’– उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ऋण सम्बन्धी कुनै सम्झौता नभएको र बीआरआईले ऋण सम्बन्धि कुनै सरोकार नराख्ने बताएका थिए । ‘प्रधानमन्त्रीओलीले त बीआरआईको ऋण लिएको छैन भन्नुभएको छ । जनतालाई ढाँट्ने ?’ भन्ने प्रश्नमा उनले सहमतिमा हस्ताक्षर भएपनि बीआरआईको ऋण अहिलेसम्म नलिइएको बताए । ‘उहाँ (ओली) को भनाइ के छ भने–बीआरआईमा हामीले अहिलेसम्म ऋण लिएका छैनौं । हिजो सम्पन्न भएको सम्झौतामा प्रष्ट रुपमा ‘एड एण्ड फाइनान्सिङ’ छ भनेपछि अनुदान र ऋण दुवै हो,’– उनले भने ।

संसारका कुनै पनि देशले शतप्रतिशत अनुदान नदिने उनले बताए । प्रधानमन्त्री ओलीले जनतालाई कुनै पनि कुरा नढाँटेको उनको दाबी छ । भर्खर सम्झौता भएकाले त्यसलाई ऋण लिइसकिएको रुपमा बुझ्न नहुने बताए ।



प्रतिक्रिया दिनुहोस्