काठमाडौं, २२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशचन्द्र लोहनीले प्रमुख प्रतिपक्षी दलको रुपमा नेकपा (माओवादी केन्द्र) कमजोर देखिएको टिप्पणी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रमुख प्रतिपक्षी दल माओवादी र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको समस्या र भ्रष्टाचारको काण्डमा सशक्त आवाज उठाउन नसकेको बताएका हुन् । नेता लोहनीले प्रचण्ड जनताको समस्यालाई बेवास्ता गर्दै फेरि सत्ताकै खेलमा लागेको बताए ।
‘प्रमुख प्रतिपक्षले जतिकुरा गर्नु पर्ने हो, उहाँहरुले गर्न सक्नुभएको छैन । अहिले भ्रष्टाचारको काण्डहरुमा खोई आन्दोलन गर्न सकेको ? खोई जनतालाई जगाउन सकेको ? भूईँ मान्छेलाई परेको समस्या, बेरोजगारीका समस्या, भ्रष्टाचारको समस्यामा खोई जनतालाई जगाउन सकेको ?’ प्रश्न गर्दै उनले भने ।
साथै, उनले प्रतिपक्षी दलहरु जनताका मुद्दामा एकजुट हुनसक्ने बताए । तर, राप्रपा अहिले सत्तामा जाने पक्षमा नरहेको उनको भनाइ छ । वर्तमान सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि प्रतिशोधपूर्ण व्यवहार गरिरहेको उनको टिप्पणी छ ।