Logo

लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने सरकारी वकिलको निर्णयविरुद्धको रिट न्यायाधीश चुडालको इजलासमा



काठमाडौं । नेकपा एमालेका निलम्बित नेता तथा कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय विरुद्धको रिट दरपिठविरुद्धको निवेदनमा आज सुनुवाइ हुँदैछ । सो रिट न्यायाधीश डा कुमार चुडालको एकल इजलासमा पेशी तोकिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पेस गरेको रिट निवेदन यसअघि सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेका थिए ।

मानव तस्करी गर्ने एक समूहसँग मन्त्री अधिकारी पनि जापान पुगेका थिए । उनी जापानी अध्यागमनबाटै फर्केपछि प्रहरीले मानव तस्करीमा संलग्नहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । अनुसन्धानका लागि मन्त्री अधिकारीलाई पनि हिरासतमा लिइएको थियो । तर जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गर्दा मन्त्रीलाई विभिन्न नौ आधार देखाउँदै मुद्दा नचल्ने निर्णय गरेको थियो ।

उक्त निर्णय बदर हुनुपर्ने र पुनः अभियोग पत्र दायर गर्नु भनी आदेश माग गरेर त्रिपाठी सर्वोच्च पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्