काठमाडौं । बोलीका कारण बेला बखत चर्चामा आइरहने सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद मोहनबहादुर बस्नेत फेरि एकपटक चर्चामा आएका छन् । गृह जिल्ला सिन्धुपाल्चोकमा बनेको पुल उद्घाटन गर्न पुगेका बस्नेत सिन्धुपाल्चोकबाटै निर्वाचित सांसद माधव सापकोटा र पूर्व सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दिएको आक्रमक अभिव्यक्तिका कारण चर्चामा आएका हुन् ।
सिन्धुपाल्चोक-२ बाट निर्वाचित सांसद बस्नेत त्रिपुरासुन्दरी गाउँपालिका-३ स्थित दाबी खोलामा बनेको पुल उद्घाटनका लागि पुगेका थिए । गत आइतबार उक्त पुल उद्घाटनका लागि पुगेका बस्नेतलाई माओवादी केन्द्रका कार्यकर्ताले अवरोध गरेका थिए । तत्कालीन नेकपा सरकारको पालामा बागमती प्रदेशका पूर्वउद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालको पहलमा बजेट विनियोजन गरेर बनाएको पुल उद्घाटन गर्न कांग्रेस सांसद पुगेको भन्दै नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताले अवरोध गर्नुका साथै बाटोमा रुख लडाएर राखेका थिए ।
तत्कालीन मन्त्री नेपाल नेकपा एमालेका नेता हुन् भने पुल निर्माण भएको वडा गत निर्वाचनमा एमालेले जितेको वडा हो । बजेट विनियोजन गर्ने तत्कालीन मन्त्री र सो क्षेका अन्य नेताहरुलाई वाइपास गरेर बस्नेतलाई बोलाईएको भन्दै एमाले र माओवादी केन्द्रका स्थानीय कार्यकर्ताले अरवोध गरेका थिए ।
माओवादी र एमाले दुवै दलका कार्यकर्ताले अवरोध गरेपनि कार्यक्रममा बस्नेत भने सांसद सापकोटामाथि खनिए । ०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नम्बर १ माओवादीको भागमा परेपछि बस्नेत २ मा गएर चुनाव लडेका थिए । १ बाट माओवादीका उनै सापकोटा निर्वाचित भएका थिए । आफूले छाडेका क्षेत्रबाट सापकोटा निर्वाचित भएकोमा आक्रोश व्यक्त गर्दै बस्नेतले अर्को चुनावमा सापकोटाको जमानत जफत गराउने भन्दै आक्रोशपूर्ण भाषण गरेका छन् । माधव सापकोटाकै निर्देशनमा आफ्नो कार्यक्रम बिथोल्ने प्रयास भएको भन्दै बस्नेतले आक्रोश व्यक्त गरेका थिए ।
केन्द्रको सरकार जसुकैको भएपनि सिन्धुपाल्चोकको सरकार प्रमुख आफू रहेको बस्नेतको जिकिर छ । ‘चाहे सुबोध (माधव सापकोटा) होस् वा चाहे अग्नि होस् । पञ्चायत कालमा भिडेर आएको मान्छे हुँ । यो देशमा सरकार जसको होस् । सिन्धुपाल्चोकको सरकार म हुँ । माओवादी अर्को पटकको चुनावमा एकादेशको बन्नेछ । सुबोध सापकोटाको जमानत जफत गराएर छाड्छु’, चेतावनी दिँदै उनले भनेका थिए ।
आगामी निर्वाचनमा सांसद सापकोटाको जमानत जफत गराउने हुंकारी भाषण गरेका बस्नेतले चुरीफुरीगरे रुखमुनि गर्धन पुर्याईदिने बताए । सांसद बस्नेतले अन्य दलका नेता कार्यकर्ताहरु तिन बिसौलीका मात्रै भएकाले कांग्रेससँग निउ नखोज्न चेतावनी दिए । उनले अझै अगाडि बढ्दै भने, ‘तिन बिसौलीका बोकाहरु उफ्रिँदा तिमीहरुलाई २५ इन्चका तिघ्रा भएका कार्यकर्ताहरुले छाड्दैनन् । माओवादीका सबै कार्यकर्ताहरु बर्बाद भएका छन् । नेता भनौदा लाउकेहरुमात्रै हुने खाने भएका छन् । चाहे अग्नि होस्, चाहे त्यही सुवोध होस् । हामीसँग को लड्ने, को भिड्ने ? चुरीफुरी धेरै गर्यो भने तिघ्रा र गर्दनमुनि बनाइदिन्छु ।’