Logo

रास्वपा र माओवादीका केही नेताहरुले मलाई सहकारी ठग बनाइदिएः ऋषिकेश पोखरेल (भिडिओसहित)



काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले आफूलाई सहकारी ठग बनाइदिएको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रास्वपाका ५ जना पदाधिकारी र माओवादीका केही नेताहरुले आफूलाई बदनाम गराउने उद्देश्यले सहकारीसँग जोडेर प्रचार गरेको बताएका हुन् ।

नेता पोखरेलले उमा गौरी कृषि सहकारीमा आफ्नो र आफ्नी श्रीमतीको लगानी नरहेको बताए । आफ्नो एक रुपैयाँ पनि लगानी नरहेको र ऋण पनि नलिइएको उनले दाबी छ । ‘मेरो फोटो देशभरी कुदाउन निर्देशन दिने रास्वपाका ५ जना पदाधिकारी, अनि मेरा नाममा अन्तर्वार्ता दिने माओवादीका ठूला नेताहरु । मेरो चाहीँ ३ पुस्ताको छानविन गरौं र उहाँहरुको चाहीँ एक पुस्ताको छानविन गरौं न ।’ उनले भने, ‘यो देशमा भ्रष्टाचारी र अपराधि को रहेछ । सुन तस्कारको हेडमास्टरले मलाई भ्रष्टाचारी भन्छ यार, गजब लाग्छ । सुन्दा सुन्दा म वाक्क भइसकेँ । यसरी जबरजस्ती भन्न पाइन्छ त ?’

साथै, उनले अहिले त्यो सहकारीमा व्यापक अनुसन्धान भइरहेको बताए । प्रहरीले त्यो सहकारीको सम्पूर्ण वस्तु लगेको र अनुसन्धान हुँदै गरेको विषयमा आफू अराजक हुन नहुने बताए । आफूले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा रहेर गरेको निर्णयले धेरै विचौलियाहरु विच्किएको उनको आरोप छ । आफ्नो अपराध लुकाउनका निम्ति माओवादी र रास्वपाका नेताहरुले आफूविरुद्ध ६ महिना निरन्तर विज्ञापन गरेको उनले बताए ।

‘विज्ञापन आएको छ महिना भयो । ऋण लिएको कुनै प्रमाण सार्वजनिक भयो ? उहाँले कसैलाई ऋण दिएको प्रमाण अहिलेसम्म केही चिज छ त ? किन नल्याएको त ? म नै हो संसद्मा पहिलोचाटी सहकारीमा समस्या छ, सहकारीको विषय छानविन गर्न आवश्यक छ भन्ने पहिलो सांसद मै हो,’– उनले भने, ‘….धेरै कुरा पनि परेन । जम्म एक लाइन कुरा छ । कहाँ, कहिले, कति कुनै न कुनै चिज त आउनुपर्यो होला नि त । सार्वजनिक लेखा समितिले गदैै गरेको निर्णयलाई डिस्टर्ब गर्नका निम्ति गरेको यो प्रायोजित विषय हो ।’

पोखरेलकी श्रीमती अञ्जला कोइराला सो सहकारीको पूर्व सञ्चालक हुन् । उक्त सहकारीले बचतकर्ताको १४ करोड ५६ लाख हिनामिना गरेको आरोप छ । सो सहकारी ठगीका सन्दर्भमा अञ्जलालाई प्रतिवादी नबनाइ १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्