काठमाडौं, २६ मंसिर । अर्थविद् एवं प्रोफेसर डा.गोपीलाल न्यौपानेले सहकारी पीडितहरुको मानव अधिकार हनन भएको विषय चाहीँ कहिले पनि चर्चामा नआएको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरण मुद्दामा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको मानव अधिकार हनन भएको विषय उठिरहँदा पीडितको मानव अधिकार हनन भएको कुरामा कसैले चासो नदिएको उनले बताए ।
अर्थविद् न्यौपानेले सहकारीमा पैसा राखेकाहरु उपचार गर्ने पैसा नभएर मर्नु, महिनौंसम्म सडक आन्दोलन गर्दासमेत बचत फिर्ता नपाउनुलगायतका विषयले पीडितको मानव अधिकार हनन भएको बताए । उनले मानव अधिकारको विषयमा कुरा गर्दा अरुको ज्यान चाहीँ ज्यानै होईन भन्ने जसरी प्रस्तुत हुन नहुने बताए ।
‘कसले डिपोजिट गरेको थियो, उसले उपचार गर्न नपाएर मरेको छ । उसको मानव अधिकार हनन भयो कि भएन ? हजारौं मान्छे सडकमा महिनौं दिनसम्म कराएर बसे, तिनको मानव अधिकार हनन भयो कि भएन ? अरुको ज्यान चाहीँ ज्यानै होईन, मेरोमात्रै ज्यान हुन्छ ?’ प्रश्न गर्दै उनले भने ।