काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो पुस ७ गतेसम्म रिक्त रहेका डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति गरिसक्न निर्देशन दिएका छन्।
विश्विविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले त्रिविको सिनेट बैठकमा मेरिटोक्रेसीका आधारमा विश्वविद्यालय चल्न सक्नेगरी डीन र क्याम्पस प्रमुखहरूको नियुक्त गर्न उपकुलपतिलाई निर्दशन दिएका हुन्।
‘त्रिविमा मेरिटोक्रेसी राम्रो हो तर त्यो साँच्चैको हुनुपर्छ। त्यसका नाममा ड्रामा चल्नुहुँदैन,’ उनले भने। आफूले साँच्चिकैको मेरिटोक्रेसीमा चलाउनुस् भनेर उपकुलपतिलाई भन्दै आएको पनि प्रधानमन्त्री ओलीले बताए।
‘सही कुरामा कुलपतिका हैसियतले मैले भूमिका निर्वाह गर्नैपर्छ । मबाट हस्तक्षेप हुँदैन तर मेरिटोक्रेसी हुनुपर्छ भनेर मैले भन्दै आएको छु,’ प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले विश्वविद्यालयका समस्या र मागहरुको विधिवत् सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे। उनले त्रिविको ऐन, नियम संशोधन गर्दा सम्बन्धित सरोकार भएका पक्षले सचेत भएर ध्यान दिन पनि आग्रह गरे।
सभाबाट त्रिवि सेवामा प्रवेशका लागि सेवा योग्यता प्रशिक्षण परीक्षाको व्यवस्था गर्ने लगायत १२ बुँदे नीति पारित भएका छन्। प्रधानमन्त्री ओलीले विश्वविद्यालय सुधारका विविध विषयमा अनौपचारिक छलफल गर्न आगामी पुस ७ गतेका लागि समय निर्धारण गरेका थिए ।