काठमाडौं, २८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सत्ता गठबन्धन भ्रष्टाचार ढाकछोप गर्न बनेको दाबी गरेका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस–एमाले गठबन्धन सरकार विगतका भ्रष्टाचार ढाकछोप गर्न र विभिन्न काण्डबाट उन्मुक्ति पाउन बनाइएको बताएका हुन् ।
‘अहिले कांग्रेस र एमाले मिलेर जुन सरकार बनेको छ, त्यो के–को लागि भन्दाखेरी विगतमा गरेका भ्रष्टाचारहरु र अब गरिने भ्रष्टाचारहरुबाट उन्मुक्ति पाउनका लागि, आफू बाँचुन्जेल कारबाहीमा पर्न नपरोस्, त्यतिन्जेल सरकारमै बस्न पाइयोस् । सत्तामै बसेर मर्न पाइयोस् भन्ने ढंगले उहाँहरुले आफ्ना विगतका गल्ती, कमीकमजोरी र भ्रष्टाचारलाई ढाकछोप गर्न यो तालमेल बनाउनुभयो,’– उनले भने ।
साथै, फरक प्रसंगमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सरकारले पूर्वाग्रह राखेको बताए । राज्य व्यवस्था समितिमा गएर प्रहरी प्रमुखले लामिछाने निर्दोष छन् भनेर सफाइ पेश गरिसकेको र अहिले मातहतका प्रहरीले भने असभ्य व्यवहार गरिराखेको उनले बताए । सत्ताको दुरुपयोगको ताजा नमुना रवि लामिछानेमाथि भइरहेको छानविनलाई लिन सकिने उनले बताए । उनले वर्तमान प्रहरी प्रमुख वसन्तबहादुर कुँबरलाई लामिछाने प्रकरणमा कारबाही गरिनुपर्ने बताए । प्रहरी प्रमुख कुँबर देशको प्रहरी प्रमुख नबनेर गृहमन्त्रीको कारिन्दाको रुपमा प्रस्तुत भएको उनको टिप्पणी छ । File Photo/RN