काठमाडौं, २९ मंसिर । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको कुनैपनि मानवअधिकार हनन नभएको बताएका छन् । नवलपुर प्रेस युनियन जिल्ला शाखाले गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले लामिछानेमाथि हरेक कुरा कानुनबमोजिम र अदालतका अनुमतिमा भइरहेको बताएका हुन् ।
‘सबै कुरा कानुनबमोजिम, अदालतको सहमति र अदालतले भनेअनुसार अनुसन्धान भइरहेको छ । कसैको मानव अधिकार हनन् भएको छैन । हिरासतमा राखेर अनुसन्धान गर्न पाइन्छ भनेर कानुनले दिएको छ,’– उनले भने ।
गृहमन्त्री लेखकले वर्तमान सरकार मानवअधिकारको रक्षाका लागि प्रतिवद्ध रहेको पनि बताए । उनले हरेक मानिसको मानवअधिकारको रक्षा हुनुपर्नेमा आफू र सरकार पूर्ण रुपमा प्रतिवद्ध रहेको पनि उनले बताए ।
गृहमन्त्री लेखकले अनुसन्धानलाई प्रभावित गर्ने, न्यायीक प्रकृयालाई अवरुद्ध गर्ने, अदालत र प्रहरी कार्यालय घेर्न कोसिस गर्नेमाथि भने सरकार निर्मम बन्ने पनि चेतावनी दिए ।
गृहमन्त्री लेखक हुप्सेकोट गाउँपालिका–३ स्थित सरस्वती संंस्कृत तथा साधारण मावि गिरुवारीको स्वर्ण महोत्सवमा सहभागी हुन नवलपुर पुगेका हुन् ।