Logo

प्रचण्ड-माधवको कुरा मिल्न सक्छ, तर एकताका लागि पार्टी-पार्टीको कुरा मिल्दैनः उपाध्यक्ष खतिवडा (भिडिओसहित)



काठमाडौं, ३० मंसिर । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले माओवादी केन्द्र, एमालेलगायत कुनै पनि वामपन्थी दलसँग एकताको प्रयास नभएको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले आफूहरुको प्राथमिकता एकता भन्दा पनि एकीकृत समाजवादीलाई नै बलियो बनाउन रहेको बताए । उनले पार्टीभित्र औपचारिक र अनौपचारिक रुपमा पार्टी एकताको बारेमा छलफल नै नभएको बताए । वामपन्थी एकता आवश्यक भएपनि अहिले सम्भव नरहेको उनले बताए ।

‘एकताको प्रस्ताव हाम्रो पार्टीमा पनि छैन । व्यक्तिहरुले कुन–कुन विषयमा छलफल गर्नुहुन्छ ? कति गम्भीर भएर छलफल गर्नुहुन्छ ? यो कुरा थाहा हुँदैन । तर, पार्टीमा यो विषय न औपचारिक रुपले आएको छ, न अनौपचारिक रुपले हामीसँग छलफल भएको छ ? यसकारण हाम्रो पहिलो एजेण्डा एकीकृत समाजवादीलाई बलियो पार्नु हो । एकीकृत समाजवादीलाई केन्द्रविन्दु बनाएर कुनै पनि शक्ति सँगै हिँड्न चाह्यो भने त्यसपछि छलफल गर्ने विषय वस्तु निर्माण हुन सक्छ । त्यसकारण आज माओवादीमात्र होईन, कुनै पनि कम्युनिष्ट पार्टीसँग एकता गर्नुपर्छ भन्ने दृष्ट्रिकोणबाट हामी हिँडिरहेका छैनौं । एकता त व्यवहार र सिद्धान्त मिल्दै जाँदा आफैं हुने प्रक्रिया हो । तर, आज यो प्रमुख होईन,’– उनले भने ।

साथै, पार्टी एकताका लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालको बीचमा कुरा मिले पनि पार्टी–पार्टीको कुरा नमिल्ने उनको भनाइ छ । एकीकृत समाजवादी आफैं आगामी निर्वाचनमा सशक्त पार्टीको रुपमा स्थापित गर्ने उनले बताए । नेता खतिवडाले आफूहरुले एकीकृत समाजवादीलाई कमजोर बनाउने गरी एकतालगायतका कुनै पनि गतिविधि हुन नदिने बताए । ‘माधव कुमार नेपाल र प्रचण्डको कुरा त मिल्न सक्छ । व्यक्तिगत रुपमा । तर, पार्टी–पार्टीको कुरा मिल्नुपर्यो नि ? एकीकृत समाजवादीलाई आगामी निर्वाचनबाट सशक्त रुपमा स्थापित गर्न हामी हिँडिरहेका छौं,’– उनले भने ।

साथै, पार्टीको स्थायी कमिटी बैठक समाप्त हुँदा धेरै असन्तुष्ट नेताहरुको माग सम्बोधन भइसक्ने उनले बताए । अहिले पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको उनले दाबी गरे । नेता खतिवडाले पार्टीभित्र विद्रोहको कुनै गुञ्जायस नरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्